इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा राजस्थानले किंग्स ११ पञ्जावलाई ४ विकेटले हरायो ।
सारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा २ विकेट गुमाउँदै दुई सय २३ रन बनायो । उत्कृष्ट सुरुवात गरेको पञ्जावले पहिलो विकेटका लागि एक सय ८३ रनको साझेदारी गरेका थिए ।
आइपीएलको इतिहासमा पहिलो विकेटका लागि धेरै रनको यो दोस्रो ठुलो साझेदारी हो । यसअघि हैदरावादका डेविड वार्नर र जोनी ब्रेस्टोले २०१९ मा एक सय ८५ रनको साझेदारी गरेका थिए ।
पञ्जावका लागि मायांक अग्रवालले शतक प्रहार गरे । उनले ५० रनमा विस्फोटक एक सय ६ रन बनाए । जसमा १० चौका र सात छक्का प्रहार गरेका थिए ।
यस्तै लोकेश राहुलले पनि ६९ रन बनाए । उनले ५४ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । अन्तिममा ग्लेन म्याक्सवेलले १३ रन बनाए भने निकाेलस पुरनले २५ रन जाेडे ।
जवाफमा राम्रो सुरुवात गर्न नसकेको राजस्थानले १९ ओभर तीन बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
१९ रनमा पहिलो विकेट गुमाएको राजस्थानले दोस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेको थियो । उसका स्टेभेन स्मिथ र सञ्जु सामसनले उत्कृष्ट पारी खेलेका थिए ।
जसमा स्मिथले ५० रनको पारी खेले भने समसनले ८५ रन बनाए । यस्तै राहुल तेवातीले ५३ रन बनाए ।
बलिङमा पञ्जावका मोहम्मद सामीले तीन विकेट लिए ।
जितसँगै राजस्थानले दुई खेलमा चार अंक बनाएको छ । दिल्लीको पनि समान अंक भएपनि रन रेटका आधारमा शिर्ष स्थानमा रहेको छ । राजस्थान दोस्रो स्थानमा छ ।