प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी एकपटक विभिन्न मिडिया सम्पादकहरुसँग गुनासो पोखेका छन् । भर्खरै गठन भएको मिडिया एलायन्सका पदाधिकारीहरुसँग बुधबार साँझ भएको भेटमा सञ्चार माध्यमका सम्पादकहरुसँग गुनासो रहेको बताए । उनले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति रहेको बताए ।
सञ्चार माध्यमले सरकारलाई दिनहुँ गालि गर्दा सहनुपर्ने तर सञ्चार माध्यमलाई आफुले एकपटक सुझाव दिँदा सहन्न भन्ने प्रवृति सम्पादकहरुमा देखिएको पनि प्रधानमन्त्री ओलीले बताए । सरकारलाई दिनरात गालि गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चार माध्यमले पनि सहने शक्तिको विकास गर्नुपर्ने उनको भनाइ थियो ।
उनले भने,‘यो सञ्चार जगत यस्तो हो अरु जसलाई जे भनेपनि छुट पाइन्छ । सञ्चार माध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन । एकदम सेन्सेटिभ नि । एसो छोयो भने देखि बुरुक्क उफ्रिआल्ने । करेन्ट लागेजस्तो । अलि अगाडि म सँग सञ्चारकर्मीहरु सम्पादकहरु भेटनुभयो । तर उहाँहरुले मलाई हामीलाई यसो किन भन्नुभयो भनेर भन्नुभयो । मैले भने तपाईहरुलाई दिनरात गालि गर्दा हुन्छ । मैले अलिकति भने भने तपाईहरु दिनरात गालि गर्ने मैले किन यसो ग¥यौ भन्दा सहनुपर्छ भनेर सिकाउने अनि मैले अलिकति भन्दा सहन नसक्ने के हो यो ? आफुले भनेको भन्यै गर्ने यसो नगर्नुस न भन्दा सहन सिक्नुपर्छ भन्ने । मैले अलिकति सुझाव दिएँ भने सहन्न भनिहाल्ने ।’
प्रधानमन्त्री ओलीले नेपालमा अगाडि बढ्न चाहनेहरुको खुट्टा तान्ने प्रवृति रहेको पनि बताए । बाकसमा रहने भ्यागुताको उदाहरण दिँदै कोही पनि अगाडि बढ्न नसक्ने गरी खुट्टा तान्ने प्रवृति रहेको उनको भनाई छ ।
प्रधानमन्त्री ओलीले मिडियाकर्मीहरुसँग विज्ञापन बोर्डको गठन छिट्टै हुने प्रतिवद्धता समेत जनाए । बोर्ड गठन नहुँदा सम्म अन्य कुनै सरकारी संयन्त्रबाट बिज्ञापन बजारको नियमन गरिने गरिने समेत बताए ।