काठमाडौं ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल र भारतको सम्बन्धलाई सुमधुर बनाउनु नै महात्मा गान्धीप्रति सच्चा सम्मान हुने बताएका छन्। नीति अनुसन्धान प्रतिष्ठानले बिहीबार गान्धीको १५१ औं जन्मजयन्तीको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन्।
‘नेपाल र भारतको सम्बन्धलाई अत्यन्तै समझदारी र सुझबुझका साथ विस्तार गरेर अघि लग्यो भने महात्मा गान्धीलाई सच्चा सम्मान गरेको ठहर्नेछ’, नेता सिंहले भने। उनले अहिंसाको माध्यमबाट जनताले अधिकार प्राप्त गर्न सक्छन् भनेर बाटो देखाउने व्यक्तिका रुपमा विश्वले गान्धीको स्मरण गर्ने पनि बताए।
अत्यन्त चमत्कारिक, असल र ठूलो नेताका रुपमा विश्वले गान्धीलाई चिन्ने गरेको भन्दै उनले गान्धीका विभिन्न आयामका बारेमा चर्चा गरेका थिए। कार्यक्रममा नेता सिंहले २०४२ सालमा सत्याग्रहमा सरिक भएर जेल गएको व्यक्तिको नाताले एउटा सत्याग्रहीका रुपमा गान्धीका बारेमा बोल्न पाउनुलाई अवसरका रुपमा लिएको बताए।
चरित्र र नैतिकताले ठूलो शक्तिलाई पनि परास्त गर्न सकिन्छ भन्ने उदाहरण गान्धी भएको भन्दै उनले तुलसी मेयर श्रेष्ठकै माध्यमबाट नेपालीका बारेमा गान्धीले जानकारी लिएको बताए।
कांग्रेसका संस्थापक नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले १९४७ मा कलकत्ताको बीरला धर्मशालामा गान्धीलाई भेटेको स्मरण नेता सिंहले गरे।
बीपी कोइराला जेलमा रहेको र क्यान्सरका कारण जीवन धरापमा परेकाले सो क्रममा किसुनजी र गणेशमानजीले गान्धीलाई भेटेर बीपीको उपचारका लागि रिहा गर्न पद्म शमशेरलाई चिठी लेखाउनका लागि गान्धीसँग भेट गरेका थिए।
डा. राममनोहर लोहियाको सिफारिसमा गान्धीले समय दिएर भेट गरेको र पत्र त लेख्दिउँला कसले लैजान्छ नेपाल ? भनेर गान्धीले सोधेको र किसुनजीले म लैजान्छु भनेको सन्दर्भ आफ्नो पिता गणेशमानबाट सुनेको उनले बताए।