काठमाडौं : सरकारले १८ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ। चिकित्सा शिक्षा सुधारको माग राखेर सत्याग्रहमा रहेका केसीलाई सरकारले पहिलो पटक यस्तो आग्रह गरेको हो।
बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले अनशन फिर्ता लिएर कोरोना महामारीबाट जनतालाई जोगाउन र जोगिन तर्फलाग्नुपर्ने बताएका हुन्। उनले यो समय अनशनका लागि सुहाउँदो नभएको बताए।
‘एकातिर चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी कोभिडबाट जनतालाई कसरी जोगाउन सकिन्छ भनेर लागिरहनुभएको छ’, मन्त्री ज्ञवालीले भने, ‘यस्तो असामान्य बेला अनशन, सत्याग्रह, धर्ना, हड्ताल सुहाउँदो विषय होइन।’
पत्रकारसँग कुरा गर्दै मन्त्री ज्ञवालीले डा. केसीका धेरै माग पूरा भइसकेको थप विषयमा छलफल गर्न सकिने भन्दै केसीलाई अनशन तोड्न आग्रह गरे। मन्त्री ज्ञवालीले अहिले अनशन फिर्ता लिएर कोरोनाविरुद्धको लडाईंमा सहभागी हुनसमेत केसीलाई आग्रह गरेका छन्।
‘मेरो नेपाल सरकारको तर्फबाट उहाँ र उहाँका साथीहरुलाई आग्रह छ। अहिले अनशन फिर्ता लिएर हामी सबै कोभिडविरुद्धको लडाईंमा जोडियौं’, मन्त्री ज्ञवालीले भने, ‘जनतालाई महामारीबाट जोगाऔं, बाँकी विषयमा छलफल गर्दै जान सक्छौं।’