भारतको उत्तर प्रदेशमा सामूहिक बलात्कारपछि उपचारको क्रममा अस्पतालमा निधन भएकी किशोरीको परिवारलाई भेट्न हिँडेका कांग्रेस आईका नेता राहुल गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राजधानी नयाँदिल्लीबाट उत्तर प्रदेशको हाथरसतर्फ हिँडेका गान्धीलाई उत्तर प्रदेश प्रहरीले सुरुमा राज्यको सीमामा अघि बढ्नबाट रोकेको थियो ।
पछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।
राहुल र उनकी बहिनी प्रियंका गान्धीलाई प्रहरीले नोयडामा रोकेको थियो ।
प्रहरीले गाडी रोकेपछि उनीहरू उत्रिएर पैदल नै अघि बढेका थिए ।
केहीबेरमा प्रहरीले उनीहरूलाई रोकेर राहुल गान्धीलाई पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा भएको धक्कामुक्कीमा राहुल लडेका थिए ।
यस धक्कामुक्कीमा नेता गान्धीको हातमा चोट लागेकोसमेत बताइएको छ ।
‘प्रहरीले मलाई धक्का दिएर लडायो,’ राहुलले भनेका छन्, ‘म सोध्न चाहन्छु– के यो देशमा मोदी (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी) मात्र हिँड्न पाउने हुन् ?, सर्वसाधारण हिड्न पाउँदैनन् ?’
उनले ट्विट गर्दै उत्तर प्रदेशमा जंगलराज रहेको यो प्रमाण भएको र यसबाट नडराउन मुख्यमन्त्रीलाई आग्रह गरेका छन् ।