इन्डियन प्रिमियर लिग आइपीएलमा मुम्बई इन्डियन्सले दोस्रो जित निकालेको छ । साविक विजेता मुम्बईले विहिबार राति भएको खेलमा पञ्जावलाई ४८ रनले हरायो । जारी प्रतियाेगितामा पञ्जावकाे याे तेस्राे हार हाे ।
आबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ४१ रन बनायो । खराव सुरुवात गरेको मुम्बईले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । त्यसपछि २१ रनमा दोस्रो विकेट गुमाएको मुम्बईले ८३ रनमा तेस्रो विकेट खेर फाल्यो ।
उसको स्कोर एक सय २४ रन हुँदा चौथो विकेट झर्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले ७० रन बनाए । उनले ४५ बलमा आठ चौका र तीन छक्का प्रहार गरे । यो पारीमा उनले पाँच रन जोडेसँगै आइपीएलमा पाँच हजार रन पुरा गरेका थिए ।
यस्तै शुर्यकुमार यादवले १० रन बनाए भने इसान किशनले २८ रनको योगदान गरे । अन्तिममा कायरन पोलार्ड र हार्दिक पाण्ड्याले विस्फोटक अर्धशतकको साझेदारी गरे । पोलार्डले ४७ रन बनाए भने पाण्ड्याले ३० रन बनाए ।
पोलार्डले २० बलमा तीन चौका र चार छक्का प्रहार गरेका थिए भने पाण्ड्याले ११ बलमा तीन चौका र दुई छक्का हिर्काए ।
जवाफमा पञ्जाव २० ओभरमा ८ विकेट गुमाउँदा एक सय ४३ रनमा राेकियाे । उसले आजपनि खासै राम्रो सुरुवात गर्न सकेन । उसको स्कोर ३८ रन हुँदा पहिलो विकेट गुमाएको थियो । यस्तै ३९ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका मायांक अग्रवाल २५ रनमा आउट भए भने करुन नायरले खाता खोल्न सकेनन् ।
पञ्जावमा स्कोर ६० रन हुँदा तेस्रो विकेट झर्यो । उसका कप्तान लोकेश राहुल १७ रनमा बोल्ड हुन पुगे । पञ्जावका लागि राम्रो ब्याटिङ गरिरहेका निकोलस पुरन ४४ रनमा आउट भएपछि पञ्जावले एक सय एक रनमा चौथो विकेट गुमायो ।
त्यसपछि पञ्जावको स्कोर एक सय सात रन हुँदा पाँचौ विकेट झर्यो । उसका ग्लेन म्याक्सवेल मात्र ११ रनमा आउट भए । उसका चार खेलाडीले मात्र दाेहाेराे अङ्क जाेड्न सके ।
एकपछि अर्को विकेट गुमाएको पञ्जाव अन्तिममा एक सय ४३ रनमा राेकियाे । याे जितसँगै मुम्बई तालिकाकाे शिर्ष स्थानमा उक्लिएकाे छ ।