निगरानी न्युज ।
इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित हासिल गर्ने क्रममा कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको छ । जितसँगै ४ खेलबाट ६ अंक जोडेको दिल्ली अंकतालिकाको शीर्ष स्थानमा फर्किएको छ ।
२ सय २९ रनको बिशाल लक्ष्य पछ्याएको कोलकाताले गतिलो सुरुआत गर्न नसके पनि मध्यक्रमका ब्याट्सम्यानले कुनै समय जितको आशा देखाइसकेका थिए ।
विशेष गरी इंग्लिस ब्याट्सम्यान इयोन मोर्गन र राहुल त्रिपाठीले सातौं विकेटका लागि ७८ रनको शानदार साझेदारी गरेका थिए । १८ औं ओभरमा मोर्गनले दक्षिण अफ्रिकी कागिसो रावाडाको बलमा लगातार ३ छक्का प्रहार गरेका थिए ।
मोर्गनले १८ बलमा ५ छक्का र १ चौकासहित ४४ र त्रिपाठीले १६ बलमा ३ छक्का र ३ चौकासहित ३६ रन बनाएर आउट भए । दुवैले पारीको अन्तिमसम्म ब्याटिङ गर्न पाएनन् । मोर्गनलाई १९ औं ओभरमा दक्षिण अफ्रिकी एरिन्च नोर्जे र त्रिपाठीलाई अन्तिम ओभरमा मार्कस स्टोनिसले आउट गरेका हुन् ।
तेस्रो नम्बरमा ब्याटिङ गरेका नितिश रानाले ३५ बलमा ४ छक्का र ४चौकासहित ५८ रनको अर्धशतकीय पारी खेले । ओपनर शुभमन गिलले २८ रन जोडेका थिए ।
दिल्लीका लागि नोर्जेले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । हर्षल पटेलले २ तथा अमित मिश्रा र रावाडाले एक एक विकेट झारे ।
यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउर २ सय २८ रनको योगफल खडा गरेको थियो ।
दिल्लीका लागि ओपनर पृथ्वी श र कप्तान श्रीयाश आयरले अर्धशतक तथा ऋषभ पन्तको आक्रामक ब्याटिङ गरे । युएईको शारजाह मैदानमा छोटो बाउन्ड्रीको फाइदा दिल्लीका ब्याट्सम्यानहरुले भरपूर उठाउँदा कोलकाताका बलरहरु महंगो सावित भए ।
ओपनर पृथ्वी शले ४१ बलमा ६६ रनको पारी खेले । उनले शिखर धवनसँग मिलेर पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेपछि दिल्लीले लय समातेको थियो । धवन १६ बलमा २६ रन बनाएर धवन वरुण चक्रवर्तीको बलमा क्याचआउट भए ।
पृथ्वीले आफ्नो इनिङमा ४ चौका र ४ छक्का प्रहार गरे । तेस्रो नम्बरमा आएका कप्तान श्रीयाश आयरले ३८ बलमा ८८ रनको शानदार पारी खेले । उनले ७ चौका र ६ छक्का प्रहार गरे । उनले पृथ्वीसँग ६३ र ऋषभ पन्तसँग ६० रनको साझेदारी गरेपछि दिल्लीले दुईसयको आँकडा पार गरेको हो ।
१६ बल खेलेका ऋषभले ३८ रन प्रहार गर्ने क्रममा ५ चौका र १ छक्का प्रहार गरे । कोलकाताका आन्द्रे रशेलले २ विकेट लिए ।