राजधानीको विषयलाई लिएर पाँच नम्बर प्रदेशसभामा तनाव

Spread the love

मंगलबार मतदान गरेर टुंग्याउने तयारी

बुटवल : राजधानीको विषयलाई लिएर पाँच नम्बर प्रदेशसभामा तनाव भएको छ। नेपाली कांग्रेसको विरोधका बावजुद सभामुख पूर्णबहादुर घर्तीले बैठक अघि बढाएपछि तनाव उत्पन्न भएको हो।विरोधकाबीच सभामुखले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई छलफलका लागि प्रस्ताव पेश गर्न अनुमति दिएपछि कांग्रेसका सांसदले अवरोध गरेका थिए। मर्यादापालकको बलमा केसी रोस्टममा पुगेर प्रस्ताव पेश गर्न थालेपछि कांग्रेसका सांसदले कुर्ची तोडफोडमा उत्रिएका हुन्।

कांग्रेसका सांसद बैजनाथ कलवार, अष्टभुजा पाठक, उसिउद्धिन खान, समाजवादी पार्टीका सांसद सन्तोष पाण्डेलगायतले कुर्ची र टेवल तोडफोड गरेका हुन्। सभामुखले कुर्ची तोडफोडकाबीच पनि बैठक जारी राखेका थिए।

बैठकमा बोल्दै सत्तापक्षका सांसद भोजप्रसाद श्रेष्ठले बोल्ने व्यवस्था गराउन सभामुखलाई आग्रह गरे। उनले सभामुखलाई आफ्नो कुरा राख्न पाउने मौका नखोज्न आग्रह गरे। उनले राजधानीका लागि रुपन्देही नै उपयुक्त भएको जिकिर गरे।

अर्का सांसद विष्णु पन्थीले कपिलवस्तुमा राजधानी तोक्न आग्रह गर्दै यही नै प्रदेशबासीको जित हुने बताए। समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादवले पनि प्रदेश राजधानी कपिलवस्तु नै उपयुक्त भएको बताए।

समाजवादीका विजयबहादुर यादव, जनमोर्चाकी तारा जिसी, नेकपाका दीपेन्द्र पुन, हरि रिजाल लगायतले छलफलमा सहभागिता जनाए। बैठकमा मन्त्री केसीले यसअघि राजधानी तथा नामाकरण सुझाव समितिले बुझाएको प्रतिवेदन सभामुखलाई हस्तान्तरण गरेका छन्।

सभामुखले संसोधनका लागि १८ घण्टाको समयावधी दिएका छन्। बैठक मंगलबार मध्याह्न १२ बजे बस्नेछ। मंगलबार नै मतदान गरी राजधानी र नामाकरण टुंग्याउने तयारी भएको छ।

यसअघि कांग्रेसले सदन अवरुद्ध गर्दा आधा घण्टा संसद बैठक स्थगित भएको थियो। कांग्रेसले राजधानी दाङ लैजानुको औचित्य पुष्टि गर्न आग्रह सरकारलाई आग्रह गरेको थियो। प्रदेशसभामा राजधानी र नामाकरण सम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै कांग्रेसले तानाशाही शैलीमा यो प्रस्ताव आएको भन्दै आपत्ती जनाएको हो।

बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले व्यक्तिगत स्वार्थमा राजधानी सार्नु गलत रहेको बताए।‘मुख्यमन्त्री भनेको प्रदेशभरको हो, उहाँ शालिन नेता हो। तर भेगीय राजनीतिमा लाग्नुभयो। राजधानीको प्रस्ताव ल्याउदा सहमति हुनुपर्थ्यो। खुसीको दिन हो, हर्ष हुनुपर्ने हो। तर बाहिर निषेधाज्ञा छ। मान्छे पक्राउ गरिएको छ। यो तानाशाही शैली भयो, उनले भने।

राजनीति स्वार्थका लागि राजधानी सारिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *