काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २३ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीलाई अनशन अन्त्य गर्न अनुरोध गरेको छ।
मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले डा. केसीलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) त्रासको अवस्थामा तत्कालका लागि अनशन अन्त्य गर्न अनुरोध गरेको हो।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले केसीलाई अनशन अन्त्य गर्न सरकारले गरेको अनुरोधसहितको विवरण पेश गरेका थिए।
त्यसपछि बैठकले कोरोना संकटको समयमा केसीलाई अनशन अन्त्य गर्न अनुरोध गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
‘बैठकमा सरकारले डा. केसीलाई अनशनको अन्त्य गर्नका निम्ति गरेको अनुरोधसहितको विवरण प्रधानमन्त्रीले जानकारी गराउनुभयो’, प्रवक्ता श्रेष्ठले भने, ‘केसीले चिकित्सा शिक्षा सुधारका क्षेत्रमा जुनजुन मुद्दा उठाउनु भएको थियो त्यसलाई पूरा गर्नेगरी अगाडि नै सम्झौता भएका छन्। कतिपय विषय कार्यान्वयनको प्रक्रियामा अगाडि बढेका छन्। सरकार कोरोना रोकथाम र नियन्त्रणमा केन्द्रित हुनुपर्ने अवस्था रहेको र पहिलाका सम्झौता कार्यान्वयनको पृष्ठभूमिमा रहकाले सरकारले जस्तै सचिवालय बैठकले पनि केसीलाई अनशन अन्त्य गर्न अनुरोध गरेको छ।’
त्यसैगरी सचिवालय बैठकमा अन्य निर्धारित एजेन्डामा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए। निर्धारित एजेन्डामा सांगठानिक एकीकरणका बाँकी काम पूरा गर्ने र संगठनात्मक कार्ययोजनाको विषयमा छलफल भएको श्रेष्ठले बताए।