निगरानी न्युज ।
सात कामदारमा कोरोना देखिएपछि सोमबारदेखि खुलेको नाका आजदेखि पुनः बन्द भएको छ । बाढी तथा पहिराको कारण करिब तीन महिना बन्द भएको तातोपानी नाका खुलेको एक दिनमै पुनःबन्द भएको हो ।
भन्सार सामग्री लोड अनलोड गर्ने मजदूरमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि चीनले नाका बन्द गरेको हो ।
तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार चीनतर्फ सामग्री लोड अनलोड गर्न गएका ३३ मजदूरको स्वास्थ्य परीक्षण गर्दै स्वाब संकलन गरिएकामा सात जनामा सङ्क्रमण देखिएपछि चीनले एकतर्फी रूपमा बन्द गरिएको हो ।
नेपालमा परीक्षण गर्दा ती मजदूरको कोरोना रिपोर्ट नेगेटिभ आए पनि चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएकाले अर्को सोमबारसम्मका लागि आयातनिर्यात बन्द गरिएको हो ।
सबै चालक र मजदूरको पाँचपाँच दिनमा परीक्षण गर्ने क्रममा कोरोना भाइरस देखिएका चार जनालाई सदरमुकाम चौतारास्थित आइसोलशनमा राखेर उपचार गरिँदैछ ।
ती चार जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ नसकिँदै पुनः तीन जनामा कोरोना पोजिटिभ देखिएपछि सीमा नाका बन्द गरिएको हो ।
यही असोज १३ गते नेपाल–चीन अधिकारीबीच मितेरीपुलमा भएको बैठकमा कोरोना भाइरस नियन्त्रण गर्ने शर्तमा नाका खुलाउने सहमति भएको थियो ।
खासा र न्यालममा अड्किएका डेढ सय कन्टेनर सामान दशैँअघि काठमाडौं पुर्याउने योजनानुसार दुवै देशको सहमतिमा नाका खुलेको थियो ।
आइतबार बेलुकीदेखि सोमबार बिहानसम्म चीनको खासाबाट १२ कन्टेनरबाट लत्ताकपडा, तयारी कपडासहित केही तयारी सामग्री तातोपानी भित्रिएको थियो ।