राजस्थानलाई हराउँदै मुम्बई पुनः शीर्ष स्थानमा, सूर्यकुमारको अर्धशतक, बुमराहको ४ विके

Spread the love

निगरानी न्युज । 

तीव्र बलरहरुले प्रभावशाली प्रदर्शन गरेपछि इन्डियन प्रिमिय लिग क्रिकेट र्आपीएलमा साविक विजेता मुम्बई इन्डियन्सले राजस्थान रोयल्सबिरुद्ध ५७ रनको जित आत्मसाथ गरेको छ । यो जितसँगै ६ खेलबाट ८ अंक जोडेको मुम्बई अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ ।

५ खेलबाट समान ८ अंक बनाएको दिल्ली क्यापिटल्सलाई रनरेटका आधारमा पछि पार्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा १ सय ३६ रनमै समेटियो ।

राजस्थानका ओपनर जस बटलरबाहेक कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय रन बनाउन सकेनन् । इंग्लिस ब्याट्सम्यानले ४४ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ७० रन बनाए । एउटा एन्डबाट बटलरले रन बनाए पनि अर्को एन्डबाट लगातार विकेट झरिरह्यो ।

युवा ब्याट्सम्यान यजस्वी जयसवाल पारीको दोस्रो बलमै खाता नखोली आउट भए । कप्तान स्टिभ स्मिथले पनि ६ रनमात्र बनाउन सके । यसअघि दुई अर्धशतक प्रहार गरेका सन्जु सामसनले खाता खोल्न सकेनन् ।

महिपाल लोम्रोर ११, टम करन १५, राहुल तेवाटिया ५ र श्रीयस गोपाल १ रनको व्यक्तिगत स्कोरमा आउट भए । अन्तिम क्रममा जोफ्रा आर्चरले ११ बलमा ३ चौका र १ छक्कासहित २४ रन बनाए ।

बलिङमा जसप्रित बुमराहले ४ विकेट लिए । उनले ४ ओभरमा २० रन खर्चिए । ट्रेन्ट बोल्ट र जेम्स प्याटिन्सनले २/२ तथा क्रुनाल पन्ड्या र किरोन पोलार्डले १/१ विकेट लिए ।

यसअघि शेख जायद अन्तर्राष्ट्रिय रंगशाला आबुधाबीमा टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय ९३ रनको योगफल खडा गरेको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ७९ रनको पारी खेले । उनले ४७ बलमा ११ चौका र २ छक्का प्रहार गरे । यो उनको आईपीएल करिअरकै उत्कृष्ट प्रदर्शन हो ।

सूर्यकुमारले पाँचौं विकेटका लागि हार्दिक पन्ड्यासँग मिलेर ७६ रनको अविजित साझेदारी गरेपछि मुम्बइले सम्मानित स्कोर बनाउन सक्यो । हार्दिकले १८ बलमा अविजित २९ रन बनाए ।

ओपनर क्वीन्टन डी कक र कप्तान रोहित शर्माले ४९ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए । डेब्यू बलर अंकित त्यागीको बलमा क्याचआउट हुनुअघि डी ककले १५ बलमा २३ रन बनाए ।

दशौं ओभरको सुरुआती लगातार २ बलमा श्रीयस गोपालले रोहित र ईशान किसानलाई आउट गरे । रोहितले ३५ रनको योगदान गरे । त्यसपछि आएका क्रुनाल पन्ड्याले १२ रन बनाएर आउट भए । उनलाई जोफ्रा आर्चरले आउट गरेका हुन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *