काठमाडौं ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले डा गोविन्द केसीको अनशनलाई वेवास्ता गरेको आरोप लगाएका छन्।
प्रवक्ता शर्माले एक विज्ञप्तिमार्फत प्रधानमन्त्रीलाई गम्भीर प्रश्न शीर्षकमा सोधेका छन्, ‘डा.के.सी.सँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो?’
स्वास्थ्य क्षेत्रमा विभिन्न सुधारको माग गर्दै डा केसीले अनशन थालेको २४ दिन पुगिसकेको छ। यति समय बित्दा पनि वार्ता समिति गठन नगरी कस्तो सन्देश दिन चाहेको भन्दै शर्माले थप प्रश्न गरेका छन्।
‘डा. गोविन्द के.सी. अनशनमा बस्नु भएको आज २४ दिन पुग्यो। वार्ता समितिसम्म गठन गर्नुभएको छैन। कुनै बेला कमरेड प्रचण्डहरुको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्नु हुन्थ्यो त्यो स्वभाविक थियो, अब अनशन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ,’ शर्माले सोधेका छन्, ‘खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि— लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरीत्रको हुनुमा फरक हुन्छ?
सत्याग्रहीलाई दुव्र्यवहारदेखि, सत्ताको अहंकारसम्मले कम्युनिष्ट तन्त्रको मनोबिज्ञानलाई मात्रै पुष्टि गरेको दाबी गर्दै प्रवक्ता शर्माले तत्काल जायज मागको सम्बोधन गर्न चेतावनी दिएका छन्।
‘डा. केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको छ। वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू। हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ। डा. केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस्,’ प्रवक्ता शर्माले भनेका छन्।