निगरानी न्युज ।
सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुनसक्नेतर्फ सबैलाई सचेत गराएको छ । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुनसक्नेतर्फ सरकारले सचेत गराएको हो ।
नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताए ।
अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उनले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताए । चाडवाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने उनको भनाइ छ ।
लकडाउन गर्ने-नगर्ने कुरा सरकारी आग्रह र अपिलहरू नागकिले कति पालना गरिरहेका छन भन्ने कुरामा भर पर्ने उनले बताए ।
यस्तै उनले संक्रमणको जटिल अवस्था आउन नदिन नागरिकहरूलाई सचेतना अपनाउन अपिल गरेका छन् ।
काठमाडौं उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखा पर्न थालेको भन्दै उनले नागरिकहरूलाई सचेतना अपनाउन अपिल गरे ।
उनले संक्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन आग्रह गरे ।
दसैं, तिहार र छठजस्ता चाडपर्वहरूमा भीडभाड हुने र संक्रमण झन बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन उनले आग्रह गरे ।
जेष्ठ नागरिकहरूको सुरक्षा महत्वपूर्ण भएको उल्लेख गर्दै उनले सानो लापरवाहीले गर्दा जीवनमा नै जोखिमको अवस्था आउन नदिन आग्रह गरे ।
काठमाडौंमा संक्रमणको दर बढीरहेको सन्दर्भमा उनले बाँकेको नरैनापुर, उदयपुर र वीरगञ्जलगायतका क्षेत्रमा संक्रमण नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूले खेलेको भूमिकालाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताए ।
राजनीतिक र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको काठमाडौं महामारीविरुद्धको लडाइमा पछाडी परेको उल्लेख गर्दै उनले विगतमा हटस्पट भएका ठाउँमा जनप्रतिनिधिहरूले कोरोना नियन्त्रणमा लिन गरेको असल अभ्यासहरू काठमाडौंमा लागू गर्न जरुरी रहेको बताए ।