अमेरिकामा २५ वर्षका युवकलाई कोरोना संक्रमण दोहोरियो

Spread the love

अमेरिकामा पनि एक व्यक्तिलाई कोरोना संक्रमण दोहोरिएको छ।

कोरोना संक्रमण निको भएको भनिएको एक महिनापछि २५ वर्षीय युवकलाई पुनः संक्रमण देखापरेको हो। यसलाई चिकित्सकले ‘घातक’ भनेका छन्।

अमेरिकाको दक्षिण-पश्चिम राज्य नभाडाका ती युवकलाई पहिला कुनै रोग थिएन।

तर गत मार्च २५ तारिख उनलाई घाँटी तथा टाउको दुख्ने, खोकी, वाकवाकी तथा पखाला लाग्ने समस्या भयो। त्यसपछि परीक्षण गर्दा अप्रिल १८ मा कोरोना पुष्टि भयो।

अप्रिल २७ मा सबै लक्षण हराए। अनि मे ९ र २६ मा परीक्षण गर्र्दा दुवैपटकको रिपोर्ट कोरोना नेगेटिभ आए। अर्थात् उनी निको भए।

तर करिब एक महिनापछि मे २८ मा उनलाई फेरि कोरोनाका लक्षण देखापरे। यसपटक उनलाई ज्वरो आउने, टाउको दुख्ने, रिँगटा, खोकी, वाकवाकी र पखाला लाग्ने भयो।

यसपछि जुन ५ मा उनको स्वाब परीक्षण गरियो। नभन्दै फेरि कोरोना पुष्टि भयो।

बीबीसीका अनुसार ती युवकका दुवै फोक्सोमा अक्सिजन नपुगेपछि अस्पताल भर्ना गरियो। अहिले उनी निको भइसकेका छन्।

कोरोना संक्रमण हतपत नदोहोरिने विश्वास गरिन्छ।

तर ‘लान्सिट इन्फेक्सस डिजिजेज’ जर्नलमा प्रकाशित शोधले कोरोना संक्रमण भइसकेपछि शरीरमा रोगप्रतिरोधी शक्ति कति बन्छ भन्ने विषयमा शंका व्यक्त गरेको छ।

वैज्ञानिकका अनुसार ती युवकमा पहिलेकै पुरानो भाइरस लुकेर बसेको र पछि देखापरेको नभई फेरि नयाँ संक्रमण भएको हो। पुनः परीक्षण गर्दा उनमा देखिएको कोरोना पहिलेकोमा भन्दा आनुवंशिक संरचना फरक पाइयो।

‘यसले एकपटक कोरोना संक्रमण भएर निको भएपछि फेरि संक्रमण हुँदैन भन्ने देखाउँछ,’ युनिभर्सिटी अफ नभाडाका डा। मार्क प्यान्डरीले भन्छन्, ‘संक्रमण दोहोरिने सम्भावनाले कोरोना प्रतिरोधी शक्ति बन्नेबारे हामीले अहिलेसम्म हासिल गरेको ज्ञानलाई चुनौती दिएको छ।’

यसर्थ कोरोना निको भएका व्यक्तिले पनि व्यक्ति–व्यक्तिबीच दूरी कायम, मास्क र हात धुनेजस्ता स्वास्थ्य सतर्कताका नियम पालना गर्नुपर्ने देखिएको उनी बताउँछन्।

वैज्ञानिकले कोरोना भाइरस र यसविरुद्ध शरीरमा बन्ने प्रतिरोध क्षमताबारे वास्तविक तथ्य पत्ता लगाउने प्रयास जारी राखेका छन्।

अहिलेसम्म एकदमै थोरै व्यक्तिलाई मात्र कोरोना दोहोरिएको छ।

दोस्रोपटक संक्रमण हुँदा भाइरस अझ बलियो भएको हुन सक्ने र पहिलेको भाइरसविरुद्ध शरीमार बनेको प्रतिरोधी क्षमताले काम गर्न नसक्ने हुन सक्ने अनुसन्धानकर्ताको अनुमान छ। डेंगीजस्ता संक्रमणमा पनि पहिलेको एन्डिबडीले काम नगरेको प्रमाण रहेको वैज्ञानिक बताउँछन्।

युनिभर्सिटी अफ इस्ट एङ्ग्लियाका प्राध्यापक पोल हन्टरले कोरोना निको भएको छोटो समयमै संक्रमण दोहोरिनु र दोस्रो पटकको संक्रमण अझ गम्भीर देखिनुले निकै चिन्ता बढाएको बताए। यसले अहिले विकास भइरहेको खोपबारे पनि पुनःविचार गर्नुपर्ने अवस्था सिर्जना गरेको उनको भनाइ छ।

उनले भने, ‘अहिले नै खोपबारे शंका गर्नु अलि हतार हुन्छ। तर यस्ता घटनाले पहिलो संक्रमणपछि शरीरमा कस्तो प्रतिरोधात्मक क्षमता बन्छ वा बन्दैन भन्ने विषयमा हामीलाई अझै पर्याप्त कुरा थाहा नभएको चाहिँ पुष्टि गर्छ।’


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *