निगरानी न्युज ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भ्रष्टाचार काण्डको गहिरो छानविन गर्न सार्वजनिक दबाब बढाउनुपर्ने आवश्यकता औल्याएको छ । काँग्रेस प्रवक्ता विश्पप्रकाश शर्माले विहीबार ट्वीटर गर्दै भ्रष्टाचारका फाइल खोल्न र कारवाही गर्न सिंगो देशले माग गरिरहेको बाएका हुन् ।
वाइडबडी जहाज खरिदमा भएको अनियमिततादेखि लडाकुको राशनसम्म छानविन गरिनुपर्ने शर्माको माग छ । ‘भ्रष्टाचारका फाइल खोल्न र कारवाही गर्न सिंगो देशको माग छ । वाइड बडि, ओम्नी, बालुवाटार, प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्ट अनि लडाकुको राशन समेत । गहिरो छानबिन र कडा कार्वाही अघि बढाउन सार्वजनिक दबाब बढाऔं ,’ शर्माले ट्वीटरमा लेखेका छन् ।
बुढीगण्डकीमा राष्ट्रघातबारे भएको निष्कर्षसहित गत मंसिरमा काँग्रेसले तयार पारेर प्रकाशित गरेको बूढीगण्डकी आयोजनाबारे छोटो भिडिओ पनि शर्मालेसँगै ट्वीट गरेका छन् ।
२२ असोजमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्कमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले बूढीगण्डकीमा ९ अर्ब कमिसन बाँडेर खाएको दाबी गरेपछि यो चर्चाको शिखरमा छ ।
२५ र २८ गते काँग्रेस प्रवक्ता शर्मा र नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति निकालेर भट्टराईलाई उक्त आरोप पुष्टि गर्न चुनौती दिएका छन् । भट्टराईले भने छानविनका लागि उच्चस्तरीय र निष्पक्ष छानविन समितिको माग गर्दै त्यसको प्रमाण पेश गर्न परे आफू तयार रहेको बताउँदै आएका छन् ।