निगरानी न्युज ।
इंग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा लिभरपुल एभर्टनसँग दुई दुई गोलको बराबरीमा रोकियो ।
एभर्टनको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले दुई पटकको अग्रता जोगाउन सकेन । खेलको तेस्रो मिनेटमा नै लिभरपुलले साडियो मानेको गोलमा अग्रता बनाएको थियो । उनले सियमुस कोलमनको पासको सदुपयोग गरेका थिए ।
खेलको ११ औं मिनेटमा नै लिभरपुलका मुख्य डिफेन्डर भान डायक घाइते भएपछि मैदानबाट बाहिरीएका थिए ।तर खेलको १९ औं मिनेटमा एभर्टनले खेल बराबरी गर्न सफल भयो । हामेस रोद्रिगेजको कर्नरमा मिचेल कियनले उत्कृष्ट हेडर गोल गरे ।
त्यसपछि पनि लिभरपुलले तीन वटा उत्कृष्ट मौका खेर फाल्यो । एक पटक थिएगो सिल्भाले प्रहार गरेको बल फ्रेममा रहन सकेन भने अर्को पटक साडियो मानेले पनि पाएको मौकालाई आत्मसाथ गर्न सकेनन् । यस्तै ३९ औं मिनेटमा मोहम्मद सलाहले पनि राम्रो अवसरको फाईदा लिन सकेनन् ।
पहिलो हाफमा एक एक गोलको बराबरी भएको खेलको दोस्रो हाफमा पनि दुबै टिमले राम्रा अवसर पाएका थिए । तर गोल गर्न असफल भइरहेका बेला ७२ औं मिनेटमा लिभरपुलले खेलमा अग्रता बनायो । उसका लागि मोहम्मद सलाहले गोल गर्न सफल भए ।
तर ८१ औं मिनेटमा एभर्टनले फेरी खेल बराबरी गर्न सफल भयो । यसपटक उसका लागि डोमिनिक लेविनले गोल गर्न सफल भए । उनले लुकासको पासको सदुपयोग गरेका थिए । ९० मिनेटमा एभर्टन १० खेलाडीमा झरेकाे थियाे । उसका रिचार्लिसन राताे कार्ड पाउँदै मैदानबाट बाहिरीए । तर त्यसका फाइदा लिभरपुलले उठाउन सकेन र बराबरीमा राेकियाे ।
यो सिजनमा एभर्टनको यो पहिलो बराबरी हो । बराबरीपछि पनि एभर्टन १३ अंकका साथ लिगको शिर्ष स्थानमा छ । लिभरपुलको पनि १० अंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ ।