उदयपुरमा स्कोरपिओ दुर्घटना, पाँच जनाको मृत्यु, तीन घाइते

Spread the love

निगरानी न्युज ।

उदयपुरको कटारी नगरपालिका– १४ भदौरेस्थित सिद्दिचरण लोकमार्गमा शनिबारराति भएको स्कोरपिओ दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।

भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो दुर्घटनामा परेको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले जानकारी दिए । मृतकमध्ये दुई जनाको पहिचान खुलेको छ भने तीन जनाको पहिचान भइसकेको छैन । एसपी दासका अनुसार दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै दुर्घटनामा परेर मृत्यु भएकामध्ये अन्दाजी ३०l३२ वर्षका पुरुष, ३०।३५ वर्षका पुरुष र अर्की ३०।३५ वर्षकी महिलाको पहिचान भइनसकेको उनले बताए । पहिचान नखुलेका तीनै जनाको घटनास्थलमै ज्यान गएको हो । अहिले मृतकको शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै रहेको छ ।

ट्राफिक प्रहरीले राति ११ः५५ बजेतिर ब्रेक फेल भएर स्कोरपिओ दुर्घटनामा परेको हुनसक्ने अनुमान गरेको छ । गाडी सडकबाट करिब नौ सय मिटर तल खसेको थियो । दुर्घटनामा परेर ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि कटारी अस्पताल पठाएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *