निगरानी न्युज।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले बुधबार साँझ भेट गरेको प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अनुसार बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गोयलले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।
‘भेटका क्रममा उहाँले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नु भयो,’ थापाले प्रेस नोट जारी गर्दै भनेका छन्।
बुधबार राती बालुवाटार निवासमा पुगेर प्रधानमन्त्री ओलीसँग डेढ घण्टा भेटवार्ता गरेका रअका प्रमुख गोयल बिहीबार बिहान १० बजेर आठ मिनेटमा दिल्ली फर्केका छन्।
‘गोयलसहित तीन जनाको टोलीले प्रधानमन्त्री ओलीसँग करिब डेढ घण्टा भेटवार्ता गरेको छ’, एक जना सुरक्षा अधिकारीले नेपालखबरसँग भने, ‘बुधबार राती १० बजेर १५ मिनेटमा प्रधानमन्त्री निवास बालुवाटार छिरेको गोयलको टोली ११ बजेर ४५ मिनेटमा बाहिरिएको थियो।’
कुटनीतिक स्वीकृति लिएर आएका गोयलको आकस्मिक नेपाल भ्रमणबारे बिहीबार बिहान उनी दिल्ली फर्कनु अघिसम्म सरकारका कुनै पनि निकायले औपचारिक जानकारी दिएका थिएनन्।