प्रधामन्त्रीलाई कांग्रेसको प्रश्न : आफ्नै कार्यकर्ताको हत्या जाहेरीसमेत नबुझ्ने सरकारबाट कस्तो अपेक्षा राखौँ?

Spread the love

निगरानी ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पर्सामा नेकपा कार्यकर्ता हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ।

बिहीबार पर्साको विन्दवासिनी गाउँपालिकामा नेकपाकै दुई समूहबीच झड्प हुँदा गाउँपालिकाका सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्या भएको थियो।

प्रहरीले उक्त हत्यामा संलग्नलाई कारबाही गर्नका लागि जाहेर समेत लिन अस्वीकार गरेको भन्दै कांग्रेसले शनिबार एक विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ।

‘नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौं? पर्साबाट घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराउँदछौं’, प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले घटना भएको तीनदिन बित्दासमेत प्रहरीले जाहेरी लिन अस्वीकार गरेका कारण अस्पतालबाट शव समेत नउठेको भन्दै घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

‘घटना विवरण अत्यन्तै दुःखद् छ। अतः पर्साको घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न, विन्दावासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरि कानुनी कारबाही गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

नागरिकको जीवन रक्षा राज्यको प्रथम कर्तव्य भएको बताउँदै कांग्रेसले नेकपाको सरकार बनेपछि मुलुकमा शान्ति सुरक्षाको स्थिति गम्भीर बन्दै गएको आरोप लगाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्लामा कयौँ हत्या भएको र सत्तारुढ दलका कार्यकर्ताबाट आधादर्जन भन्दा बढी कांग्रेस कार्यकर्ता मारिएको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले सत्ता उन्मादमा रहेको दलभित्रको द्वन्द्वले हाफ्नै कार्यकर्ताको हत्या गरेर चरम असहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत गरेको ठहर गरेको छ।

‘पर्साको घटनामा आइपुग्दा सत्ता उन्मादमा रहेको दलभित्रको द्वन्द्वले आफ्नै कार्यकर्ताको हत्या गरेर चरम असहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानूनी कार्वाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो। तर ३ दिन पुग्दासम्म जाहेरी समेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय छ।’

कांग्रेसले निष्पक्ष अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अविलम्ब थालनी गर्न संघीय र प्रदेश दुबै सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *