निगरानी न्युज।
भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणेलाई नेपाल सरकारले दिने मानार्थ महारथीको सम्मानप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आपत्ति जनाएको छ ।
सरकारले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानीसहित सम्मान गर्न यही कार्तिक १९-२१ गते नरवाणेलाई निमन्त्रणा गरेको छ । नरावणेलाई दिन लागिएको ‘मानार्थ महारथी’ नेपाली जनता, नेपालको संसद् र नेपाली सेनाको वीरतापूर्ण ख्यातिको खुला अपमान भएको मोर्चाको ठहर छ ।
मोर्चाले एक विज्ञप्ति जारी गर्दै ‘भारतले नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको जमिन मिचेको र नेपालको सार्वभौमसत्ता र भूअखण्डतामाथि प्रहार गरेको देशका सेनाका मुखियालाई यो सम्मान दिइनु खेदजनक भएको’ भनेको छ । ‘भारतले नेपालको भूमि मिचेको सम्बन्धमा तीव्र विरोध भएको घटनाप्रति लक्ष्यित चीनको उक्साहटमा नेपालमा गतिविधि भएको भनी धम्कीपूर्ण सार्वजनिक अभिव्यक्ति दिएका नरवाणेलाई सम्मानित गर्ने निर्णयको मोर्चा भर्त्सना गर्दछ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ ।
निश्चित भैसकेको नरवाणेको नेपाल आगमन शंकास्पद, आपत्तिजनक र विस्मयकारी भएकाले यो भ्रमण रद्द गर्न मागसमेत उसले माग गरेको छ ।