नेपाल चलचित्र निर्माता संघले तिहारलगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहे तापनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर काम गर्ने भन्दै संघले छायांकन र हल खोल्ने अनुमति दिन माग गरेको हो । लकडाउन खुलेसँगै अन्य क्षेत्रहरू खुला गरेको सरकारले चलचित्र क्षेत्र अहिलेसम्म सञ्चालनको अनुमति नदिएर अपहेलना गरेको संघका अध्यक्ष आकाश अधिकारीले बताए ।
सरकारले चलचित्र क्षेत्रलाई नाच्ने गाउने र मनोरञ्जनको क्षेत्रका रूपमा मात्रै सोचेको महशुस आफूहरूलाई भएको उनले बताए । चलचित्र क्षेत्र मनोरञ्जनसँगै कला, संस्कृति, भेषभूषाको समिश्रण भएको उल्लेख गर्दै उनले यस्तो महत्त्वपूर्ण क्षेत्रलाई राज्यले अपहेलना गरेको बताए ।
अहिले चलचत्रि क्षेत्र बन्द हुँदा प्रत्यक्ष रूपमा ३५ हजार र यसक्षेत्रमा आश्रित १ लाख ७५ हजार बढी व्यक्ति बेरोजगार बसेको उनले बताए । धेरै समयमा उद्योग बन्द हुँदा प्राविधिक र दक्ष जनशक्ति पलाउन हुने खतरा भएकाले यसतर्फ पनि ध्यान दिन उनले आग्रह गरे ।