कोरोना भाइरस संक्रणमको उपचार गर्ने गरी चीनले बनाएको भ्याक्सिन सिनोभ्याकको तेस्रो चरणको परीक्षण विश्वभर जारी छ । यसैबीच चिनियाँ अनुसन्धानकर्ताहरूले सिनोभ्याक परीक्षणको सफलता मध्यभागमा पुगेको दाबी गरेका छन् । सिनोभ्याक बायोटेक कम्पनीले सात सयजनामाथि गरेको परीक्षणमा सबैले सफलता चुमेको जनाएको छ । अमेरिका तथा युरोपको परीक्षणपछि सिनोभ्याक बायोटेकले यस्तो दाबी गरेको हो ।
अमेरिका, जर्मनी र रसियाका सयौँ व्यक्तिमाथि सिनोभ्याक भ्याक्सिनको परीक्षण अझै भइरहेको छ । सिनोभ्याक बायोटेकले भ्याक्सिनले ९० प्रतिशत काम गरेको अघिल्लो साता नै घोषणा गरिसकेको छ । ‘हामीले गत साता पनि सिनोभ्याकको सफलता सम्बन्धमा सबैलाई जानकारी गराएका थियौँ, अहिले यो भ्याक्सिन परीक्षणको ‘मिड स्टेज’मा पुग्दासम्म हर्षित छौँ साथै थप सकारात्मक नतिजा आउने विश्वास लिएका छौँ,’ सिनोभ्याक बायोटेकले भनेको छ ।यसबाहेक पनि चीनले कोरोना भाइरसविरुद्ध लड्न विभिन्न किसिमको भ्याक्सिन उत्पादन गरिरहेको छ । यसमध्ये सिनोभ्याक सबैभन्दा बढी प्रभावशाली देखिएको छ । सिनोभ्याक अन्तिम चरणको परीक्षण कालमा छ । साइन्टिफिक जर्नल द लान्सेटमा प्रकाशित लेखअनुसार पहिलो तथा दोस्रो चरणको परीक्षणको नतिजा सन्तोषजनक थिएन । तर, तेस्रो चरणको परीक्षणमा यसले ९० प्रतिशत सफलता प्राप्त गरेको द लान्सेटमा लेखिएको छ ।