ओली–देउवा गोप्य भेट

Spread the love

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरी सत्ता साझेदारीको प्रस्ताव गरेका छन् ।

पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेर फुटको संघारमा पुगेकै वेला प्रधानमन्त्री ओलीले संसद्को दोस्रो ठूलो दल कांग्रेसका सभापति देउवासँग गोप्य भेटवार्ता गरेका हुन् ।

संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले बोलाएपछि शनिबार दिउँसो देउवा प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए ।

करिब डेढ घन्टासम्म संवैधानिक निकायमा नियुक्ति र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भए पनि नेताहरूले भेटलाई गोप्य राखेका छन् । आफूनिकट केन्द्रीय सदस्यहरूलाई लिएर बालुवाटार पुगेका देउवासँग प्रधानमन्त्री ओलीले बेग्लै छलफलसमेत गरेका थिए ।

भेटमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत सहभागी थिए ।

स्रोतका अनुसार भेटका क्रममा प्रधानमन्त्री ओलीले देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेका छन् ।

कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्री ओली र सभापति देउवाबीच संवाद भएको पुष्टि गरे ।

‘बाहिर हल्ला भएकोजस्तो कुरा भएको हाेइन, आवश्यकताभन्दा बढी महत्व दिइएको हो,’ उनले भने ।

उनले संवाद भएको भए पनि के–के कुरा भएको भन्नेबारे खुलाउन चाहेनन् । यसअघि शुक्रबार साँझ कांग्रेस सभापति देउवासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेटेका थिए ।

लगत्तै प्रधानमन्त्री ओलीसँगको भेटलाई लिएर कांग्रेस नेताहरू नै आशंका व्यक्त गरिरहेका छन् ।

संवैधानिक आयोगमा ठूलो संख्यामा पदहरू रिक्त हुँदासमेत सरकारले लामो समयदेखि नियुक्ति गरेको छैन ।

संवैधानिक नियुक्तिका सम्बन्धमा प्रधानमन्त्री ओली र कांग्रेस नेता देउवाबीच पटक–पटक संवाद हुँदै आएको छ ।

कांग्रेस स्रोतका अनुसार सभापति देउवाले अख्तियार र निर्वाचन आयोगमा कांग्रेसलाई भाग दिनुपर्ने अडान राखेका छन् ।
भागबन्डाका विषयमा सहमति गर्न नेकपाका नेता सुवास नेम्वाङ र कांग्रेस नेता रमेश लेखकलाई जिम्मेवारी दिइएको छ ।
तर, पटकपटक छलफल हुँदासमेत संवैधानिक नियुक्तिका विषयमा सहमति भने जुटेको छैन ।

यसअघि पनि पार्टीको विवाद उत्कर्षमा पुगेकै वेला प्रधानमन्त्री ओलीले १७ असारमा कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *