द्विपक्षीय सहकार्यबारे निकै फलदायी कुराकानी भयो: भारतीय विदेशसचिव श्रृंगला

Spread the love

निगरानी न्युज ।

नेपालको दुई दिने भ्रमणमा आएका भारतका विदेशसचिव हर्षबर्धन श्रृंगलाले नेपाली पक्षसँग भएको द्विपक्षीय कुराकानी निकै फलदायी भएको बताएका छन्।

नेपाली प्रतिनिधिमण्डलसँग बिहीबार भएको द्विपक्षीय कुराकानीपछि उनले सो प्रतिक्रिया दिएका हुन्।

‘बैठकमा हामी दुई पक्षबीच अत्यन्त फलदायी र उपयोगी कुराकानी भयो,’ उनले सञ्चारकर्मीसँग भने, ‘द्विपक्षीय सहकार्यका निकै धेरै विषयहरुमा हामीले छलफल गर्‍यौं। यसले हाम्रो सहयोग कति बहुपक्षीय र वृहत् छ भन्ने कुरा देखाउँछ।’

उनले सहकार्यका बिभिन्न पक्षमा थप कदम चाल्नका लागि दुवै पक्ष सहमत भएको पनि जानकारी दिए।

यसबीचमा नेतृत्व तहबाट व्यक्त गरेका प्रतिबद्धताहरु पुरा गर्नेतर्फ पनि धेरै राम्रो प्रगति भएको उनले बताए। ‘अरु थप पहल पनि लिनसक्ने संभावनाबारे पनि छलफल गरेका छौं,’ श्रृंगलाले भने।

भारतीय विदेशसचिव श्रृंगला नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौं आएका हुन्।

करिब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक सम्पन्न भएको हो।

सो द्विपक्षीय बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व श्रृंगलाले गरेका थिए।

होटेल याक एन्ड यतिमा भएको द्विपक्षीय बैठक सम्पन्न गरी सचिव श्रृंगला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट गर्न परराष्ट्र मन्त्रालय सिंहदरबार पुगेका थिए।

सचिव पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत सहभागी थिए भने विदेशसचिव श्रृंगला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय (उत्तर विभाग)का सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत यहाँस्थित भारतीय दूतावासका कर्मचारी सहभागी थिए।

भिडियाे:


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *