ओलीद्वारा प्रचण्डमाथि अविश्वासको प्रस्तावका लागि छलछाम गरी सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराएको आरोप

Spread the love

निगरानी न्युज ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेको आरोप लगाएका छन् । आज पार्टी सचिवालय बैठकमा उनले अविश्वासको प्रस्तावका लागि खाली कागजमा सांसदहरुलाई हस्ताक्षर गराएको आरोप लगाएका हुन् । हस्ताक्षर गराउन छलछाम गरेको उनको टिप्पणी थियो ।

प्रचण्डको प्रस्तावको प्रत्युत्तरमा दर्ता गरेको प्रस्ताव प्रस्तुत गर्दै ओलीले भनेका छन्, ‘सिधैै प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्तावका लागि भनेर हस्ताक्षर गराउँदा साथीहरुले प्रश्न उठाउलान् भनेर, विभिन्न विकास आयोजनाका लागि सरकारसँग माग गर्ने बहानामा सांसदहरुलाई खाली कागजमा सही गराउँदै हुनुहुन्छ ।’ उनले प्रचण्डमाथि छलछामको आरोप लगाए । उनले प्रश्न गरे, ‘कामरेड प्रचण्ड, किन यस्तो अपारदर्शिता ? किन यस्तो छलछाम ?’

ओलीले प्रचण्डको नैतिकतामाथि प्रश्न गरे । प्रचण्डले भत्काउने बनाउने फेरि भत्काउने विषयलाई गर्वको विषय बनाएको टिप्पणी गरे ।

यस्तो छ ओलीको ३८ पृष्ठको प्रस्ताव (पूर्णपाठ)

प्रचण्डले भारत भ्रमणमा जाँदा आलोपालो प्रधानमन्त्रीको सहमति भएको खुलासा गरेकोमा समेत गम्भीर प्रश्न उठाएका छन् । उनले प्रश्न् गरे, ‘यसबाट राष्ट्रिय स्वाधिनता, हित र स्थायीत्वमाथि गम्भिर प्रतिकूल असर पर्दैन ?’

मन्त्रिमण्डल पुर्नगठनमा प्रचण्डको असन्तुष्टिको जवाफ दिदै प्रधानमन्त्री ओलीले विश्वास गरेको टिम छनोट गर्ने अवस्थामा जोड दिए । उनले भने, ‘प्रधानमन्त्री बनाउने, तर उसले विश्वास गरेको टिम छनोट गर्न नपाउने ?’ ओलीले संयुक्त सरकारको प्रधानमन्त्रीभन्दा पनि बढी असहजताका बीच काम गर्नुपरिरहेको बताएका छन् ।

ओलीले आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने समेत स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘मैंले स्थायी कमिटीको बैठकमा औपचारिक रुपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको छु । योभन्दा बढी मैंले के त्याग गर्नु पर्ने हो ?’ ओलीले त्याग नै गर्ने हो भने बारम्बार सरकार र पार्टीको नेतृत्व गरेकाहरुले जिम्मेवार नलिने र नयाँ पुस्तालाई हस्तान्तरणको प्रस्ताव समेत गरेका छन् ।

ओलीले आफूलाई भ्रष्टाचारसँग जोडेकोमा गम्भीर असन्तुष्टि व्यक्त गर्दै प्रचण्डमाथि प्रश्न गरेका छन् । उनले भनेका छन्, वाइडबडी भनिने एयरबस ३३० खरिद गर्दा सरकारमा को थियो ? ३८ क्लिवन्टलभन्दा बढी सुनको तस्करी हुँदा को सत्तामा थियो ? ललितानिवास प्रकरण कहिलेबाट र को को हुँदै अगाडि बढेको थियो ?

प्रचण्डमाथि ओलीको आरोप

  • निर्वाचन सफलताको उन्मादमा गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपाललाई कसैको इशारामा धोका
  • ओली सरकार सात महिनामै ढालेको
  • एमालेलाई मुलुकबाट किनारा लगाउन लागेको
  • प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्तावका लागि भनेर सांसदहरुलाई खाली कागजमा सही गराएको
  • निर्वाचन आयोगमा प्रचण्डले सिफारिस गरेर पठाइएकाको भूमिकामाथि प्रश्न
  • भारत भ्रमणको क्रममा आलोपालो प्रधानमन्त्रीको सहमति खुलासा गरी राष्ट्रिय स्वाधीनतामाथि गम्भरि प्रतिकूल असर पारेको

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *