निगरानी न्युज ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद् बैठक बस्नुअघि राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास पुग्नुभएकाे हाे ।
नेकपाको विवादलाई लिएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितले आफूलाई घेराबन्दी गरेको प्रधानमन्त्री ओलीले बताउँदै आउनुकाे छ । अध्यक्ष ओली अप्ठ्याराेमा परिरहनु भएकाे बेला राष्ट्रपति भण्डारीसँगकाे भेटलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ । ओलीको सचिवालयले यो भेटलाई नियमित भनेको छ ।
पार्टी अध्यक्षद्वय ओली र प्रचण्डको प्रस्तावका विषयमा छलफल गर्न बोलाइएको सचिवालय बैठक बुधबार पनि केहीबेर बसेर स्थगित भएको थियाे । वैठक प्रधानमन्त्री ओलीको अनुपस्थिति हुनुभएपछि सचिवालय बैठक केहीबेर मात्रै बसेर मंसिर २० गतेसम्मका लागि स्थगित गरिएको थियाे ।
कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै प्रस्ताव ल्याउनुभएकाे थियाे भने ओलीले पनि त्यसको जवाफमा मंसिर १३ गते प्रतिवेदन ल्याउनुभएकाे थियाे । सोही प्रस्तावको विषयमै नेकपाभित्र विवाद छ । प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नै हुन नसक्ने अडान लिँदै आउनुभएकाे छ ।
प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बाेलाउनु भएकाे छ । मन्त्रिपरिषद् बैठक नियमित हो । सामान्यतस् सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्छ । मन्त्रिपरिषद्का एजेन्डाबारेमा केही पनि सार्वजनिक गरिएको छैन ।