निगरानी न्युज ।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजनपछि ओली समूहमा गएको पूर्व माओवादीहरुमाथि प्रश्न उठाएका छन्।
मंगलबार पोखरामा भएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई कुहेको फर्सी भनेको सुनेर कसरी बस्न सकेको हो भनि प्रश्न गरेका हुन्।
‘मलाई लाज लागेको छ, ओलीले जनयुद्धलाई कुहेको फर्सी भन्नुभएछ’, अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्धलाई कुहेको फर्सी हो भनेको कसरी सुनेर बस्न सकेको हो?’
पूर्व माओवादीका नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा लगायतका नेताहरु अहिले ओली समूहमा लागेर मन्त्री बनेका छन्। बालकृष्ण ढुंगेल, कालीबहादुर खाम लगायतका नेताहरु पनि सो समूहमा लागेका छन्।
अध्यक्ष प्रचण्डले पार्टी एकताका बेला ओलीले जनयुद्धले राजनीतिक परिवर्तल ल्याउनमा उल्लेख्य भूमिका खेलेको भन्ने दस्तावेजमा हस्ताक्षर गरेको स्मरण गरे। ‘के राजनीतिक परिवर्तन गर्न जनयुद्धले खेलको भुमिका उल्लेखनीय छ भनेर केपी ओलीले गरेको हस्ताक्षर कीर्ति हो?’, उनले प्रश्न गरे।