इजलासमा उठ्यो प्रश्न : प्रधानमन्त्री र न्यायाधीशहरुबीच भेट भएको हो?

Spread the love

प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले चार न्यायाधीशहरुलाई सुटुक्क भेटको भन्दै रिट निवेदनकहरुले प्रश्न उठाएका छन्।

शुक्रबार संवैधानिक इजलासमा उक्त रिटमाथि बहस जारी रहेकै समयमा निवेदकका तर्फबाट नेकपा नेत्री शशी श्रेष्ठले उक्त भेटलाई लिएर संवैधानिक इजलासमा प्रश्न उठाएकी हुन।

उनले न्यायपालिका निष्पक्ष हुनुपर्ने भन्दै त्यस विषयमा प्रश्न गरेकी थिइन्।

‘प्रधानमन्त्री र न्यायाधीहरुबीच भेट भएको भन्ने बुझिएको छ। यो विषय के हो?’ श्रेष्ठले इजलासमा भनिन्, ‘हामीले चाहेको अदातल भनेको स्वतन्त्र र निष्पक्ष हो।’

प्रधानमन्त्रीको नीजि सचिवालय निकट स्रोतका अनुसार पुस २७ गते सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र हरिकृष्ण कार्कीले बालुवाटारमा दिउँसो १ः२० बजेदेखि २ः४५ बजेसम्म प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।

त्यस्तै प्रधानमन्त्री ओलीले पुस २६ गते सर्वोच्चका वरिष्ठ न्यायाधीशद्वय दिपक कार्की र मीरा खड्कासँग पनि भेटेको स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीसँग कार्की र खड्काले राति ८ बजेबाट ९ः१० बजेसम्म बालुवाटारमै भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालत सुनुवाइ भइरहेको छ। अदालतमा सो मुद्दाको सुनुवाई संवैधानिक इजलासमा पर्ने कि बृहत इजलासमा भन्ने विषयमा सुनुवाई जारी रहेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *