जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा विघटनमा अन्तर्राष्ट्रिय शक्तिको गलत चलखेल रहेको बताएका छन्।
सोमबार गणेशमान सिंह तथा शहिद स्मृति शान्ति प्रतिष्ठानको आयोजनामा काठमाडौँमा भएको ‘संसद विघटनः संवैधानिक एवं राजनीतिक अन्योलता र त्यसको निरुपण’ विषयक अन्र्तक्रिया कार्यक्रममा भट्टराईले अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको चलखेल बढिरहेको दाबी गर्दै जनताको शक्ति प्रदर्शनबाट त्यस्तो चलखेल रोकिने बताए। उनले प्रतिनिधि सभालाई जिवित गर्नुपर्नेमा पनि जोड दिए।
पूर्व प्रधानमन्त्री डा. भट्टराईले प्रतिनिधि सभा पुनर्स्थापनाको निम्ति संघर्ष आवश्यक रहेको बताए। लोकतन्त्र, संविधानप्रतिको निष्ठा जायर गर्दै राजनीतिक दल नागरिक समाज लगायतले शक्ति प्रदर्शन गर्नसके अदालतले संविधान भित्रै रहेर निर्णय गर्ने उनको भनाई छ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको सार्वभौमिकतालाई प्रतिनिधित्व गर्ने संसद कम्युनिष्ट पार्टीको आन्तरिक कलहलाई व्यवस्थापन गर्न नसक्दा विघटन गरिएको बताए। प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको नेताहरुको रिसमा संसदमा आगो लगाएको उनको भनाई छ। संविधानले प्रधानमन्त्रीको तानाशाहलाई रोकेको भएपनि प्रधानमन्त्री ओलीले संसदमाथि अनाधिकृत आक्रमण गरेको उनले बताए।
नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले संविधान निर्माणताका प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिनको निम्ति गरिएको छलफलको अभिलेख अदालतमा झिकाउनुपर्ने धारणा राखे। न्यायाधीशहरुले संवैधानिक सर्वोच्चता र विधिको शासन अनुरुप धर्म निर्वाह गर्ने हो भने प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्प नहुने उनको भनाई छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौष ५ गते प्रतिनिधि सभाको विघटन गरेसँगै राजनीतिक दल, नागरिक समाज, कानुन व्यवसायी लगायतले दैनिकजसो प्रतिनिधि सभा विघटनको विषयमा विरोध तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएका छन्।