३५ लाख धरौटी बुझाउन नसक्ने बताएपछि लम्बोदर न्यौपाने जेल चलान

Spread the love

नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने कारागार चलान भएका छन्।

जिल्ला अदालत भक्तपुरले न्यौपानेसँग ३५ लाख रुपैयाँ धरौटी माग गर्दा न्यौपानेले तिर्न नसक्ने बताएपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो।

उनीसँगै पक्राउ परेका दुईजना भने धरौटी तिरेर छुटेका छन्।

सोही कलेजका पूर्वलेखा नियन्त्रक रामकुमार श्रेष्ठ १० लाख र पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा सहायक प्रशासक चोलाकान्त च्वाई ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्।

कलेजमा करौडौं भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीविरुद्ध गत असोज ३० गते प्रा.डा. हरिकृष्ण श्रेष्ठले जाहेरी दिएका थिए। यो मुद्दाका प्रतिवादीहरुबाट ५२ करोड ९६ लाख ८९ हजार ६ सय २९ रुपैयाँ कलेजलाई बिगोस्वरुप भराउन माग गरिएको छ।

न्यौपानेबाट मात्रै ३३ करोड ७५ लाख १७ हजार ६ सय ४७ रुपैयाँ १ पैसा कलेजलाई भराइ पाउन माग गरिएको छ। सोही मुद्दामा अरु १ जनाको मृत्यु भइसकेको छ भने ४ जना फरार रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ।

बयानका क्रममा न्यौपानेले आफ्नो पारिश्रमिक नै मासिक ५ लाख रुपैयाँ भएको र सुविधाबापत अरु डेढ करोड लिएको दाबी गरेका छन्।

लम्बोदर मंसिर १० गते ललितपुरबाट पक्राउ परेका थिए। उनीमाथि यसअघि पनि अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको आरोप लागेको थियो।

उक्त अभियोगमा पक्राउ परेका उनी त्यसबेला पनि धरौटीमा छुटेका थिए। उनीमाथि घुस दिएर छुटेको आरोप छ।

उनीविरुद्ध इन्जिनियरिङ कलेजले सीआईबीमा ठगीको उजुरी दिएको थियो। त्यसपछि उनी फरार थिए।

लम्बोदरसहित ललितपुरका सूर्यबहादुर केसी, रामरत्न उपाध्याय, काठमाडौं विशालनगरका उपेन्द्र गौतम र बालुवाटारका नवराज भट्टराईले कलेजको करोडौँ रुपैयाँ हिनामिना गरेको आरोप छ।

उनले कलेजका लेटरप्याड र छाप दुरुपयोग गरी खर्च नै नभएको सचिवालयको खर्च भन्दै रकम ठगी गरेको पनि आरोप छ।

यसअघि आफ्नो अनुसन्धान सकेर सीआईबीले केही प्रमाण अदालतमा पेस गर्ने भन्दै मुद्दा बुझाएको थियो। ठगी मुद्दामा ७ वर्ष कैद र ७० हजारसम्म जरिबाना हुने व्यवस्था छ।

किर्ते मुद्दामा नयाँ अपराध संहितापछिको घटना भए ७ वर्षसम्म कैद र पहिलेको भए १ वर्षसम कैद हुने व्यवस्था छ। अदालतको अन्तिम फैसला आएपछि मात्रै उनीहरुमाथी के कस्तो सजाय हुने भन्ने टुंगो लाग्नेछ।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *