६ महिनापछि पहिलोपटक २४ घण्टामा कोरोनाबाट मृत्यु शून्य

Spread the love

नेपालमा ६ महिनापछि पहिलोपटक बिहीबार २४ घण्टामा कोरोना संक्रमणबाट कसैकाे मृत्यु भएन।

यसअघि पछिल्लो समय गत साउन ८ गते कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएकाे थिएन।

‘साउन ४, ५ र ८ गते २४ घण्टामा कसैको मृत्यु भएको थिएन,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा‍. समीरकुमार अधिकारीले नेपालखबरसँग भने।

उनका अनुसार यसअघि १ सय ८८ दिनसम्म कोरोना संक्रमणबाट कसै न कसैको मृत्यु भएको थियाे। तर पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएन भन्नुको अर्थ कोरोना सकियो भन्ने होइन।

डा. अधिकारीले थपे, ‘तर पछिल्लो समय दैनिक संक्रमित हुनेको संख्या घट्दै गएको छ र त्यसकै कारण यस्तो भएको हो।’

हिजाे बुधबार भने २४ घण्टामा काेराेनाका कारण ३ जनाको मृत्यु भएको थियो।

‘अहिले नै कोरोना संक्रमणको जोखिम सकियो भन्नु हतारो हुन्छ। तर पछिल्लो चक्र भने सकिने दिशामा जाँदै छ,’ डा. अधिकारीले भने,  ‘अहिले पनि कैयौ संक्रमित भेन्टिलेटरमा हुनुहुन्छ। भेन्टिलेटरमा राख्नुपरेका व्यक्तिमध्ये १० प्रतिशत जति मात्रै निको भएर फर्किनुभएको छ। अझै पनि हामीले सचेतना अपनाउने काम जारी राख्नुपर्छ।’

हाल देशभर आईसीयूमा १ सय ४६ जना र भेन्टिलेटरमा २६ संक्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भेन्टिलेटरमा रहेकामध्ये बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा ६ र लुम्बिनी प्रदेशमा ४ जना छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७९१ नमुना परीक्षण गर्दा २१३ जनामा कोरोना संक्रमण पुष्टि छ।

योसँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख ७० हजार ५८८ पुगेको छ। पछिल्लो २४ घण्टामा निको भएका २९६ जनासहित कोरोनाबाट निको हुनेको कूल संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ।

हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कूल संख्याचाहिँ २ हजार २० पुगेको छ।

मन्त्रालयका अनुसार हाल ११३ जना क्वारेन्टिनमा र २०३ जना आइसोलेसनमा छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *