सिँगौरी खेल्ने बानी परेकाहरू हटे, अब पार्टी एकजुट भएर अघि बढ्छ : प्रधानमन्त्री ओली

Spread the love

काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले जहाँ जहिले पनि झगडा गर्ने बानी परेकाहरू पार्टीबाट हटेका कारण अब किसान आन्दोलन एकजुट भएर अघि बढ्ने बताएका छन्।

अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको शुद्धीकरण र सुदृढीकरण भएको बताए।

“झगडा गर्ने बानी परेका, मुद्दा लड्ने बानी परेका, सिँगौरी खेल्ने बानी परेका, भुइँ खोस्रिने बानी परेका, गालीगलौज गर्ने बानी परेका, मुख छाड्ने बानी परेका, जहिले जहाँ पुगे पनि निहुँ खोज्ने बानी परेकाहरू हटे,” प्रधानमन्त्री ओलीले भने, “संगठन अब पुनर्जागृत हुन्छ, अझ विस्तारित हुन्छ। एकजुट भएर अघि बढ्छ।”

प्रचण्ड समूहलाई व्यङ्ग्य कस्दै ओलीले “‘मै हुँ’ भन्ने केहीले पार्टी छाड्दैमा आन्दोलन कमजोर नहुने” बताए। उनले किसान आन्दोलनमार्फत् गाँउगाँउबाट जागरण ल्याउन आह्वान गरे।

“यो आन्दोलन अझ मजबुत, सुदृढ र बलियो भएर अघि बढ्छ। यो शुद्धीकरण पनि हो, सुदृढीकरण पनि हो र विस्तारीकरण पनि हो,” प्रधानमन्त्री ओलीले भने, “आन्तरिक रूपमा सुदृढ, आचरण, व्यावहारिक र विचारका हिसाबले शुद्धीकरण तथा संगठनको हिसाबले विस्तारीकरण हो।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रथम अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दाबी गरे। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालहरूसहितको समूह राजनीतिक रूपमा विभाजित भएको प्रसङ्ग कोट्याउँदै प्रधानमन्त्री ओलीले थपे, “पार्टी फुट्यो, कसरी बहुमत आउँछ भन्ने ठान्नेहरू पनि छन्। देशमा तीन करोड मान्छे छन्, दुईचारजना जाँदैमा आत्तिनु पर्दैन। हामी जित्नेछौं। यसपटक एउटा नयाँ कीर्तिमान कायम गर्नुपर्छ।”

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *