जनकपुर ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवले दलहरु भित्र आन्तरिक रुपमा लोकतन्त्रको विधि र पद्धति स्वीकार्न नसक्दा लोकतन्त्रमाथि पटक पटक प्रहार हुँदै आइरहेको टिप्पणी गरेका छन् ।
पूर्व राष्ट्रपति यादवले राजनीतिक पार्टीहरू आफैले बनाएको लोकतान्त्रिक विधि तथा पद्धति आत्मसात गर्दै सो अनुरुप नचलेकै कारण नेपालमा लोकतन्त्रमाथि आघात हुँदै आएको बताए ।
काँग्रेसका गान्धीवादी नेता महेन्द्रनारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा बिहीबार जनकपुरधाममा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति यादवले सम्पूर्ण राजनीतिक दललाई लोकतन्त्र मजबुत बनाउनका लागि विधि विधान अनुसार अगाडी बढ्न आग्रह समेत गरे ।
उनले स्वर्गीय महेन्द्रनारायण निधिलाई स्मरण गर्दै भने, ‘जसरी निधिले एउटै विचारलाई समातेर जीवन पर्यन्त लडिरहे । त्यस्तै अगाडि बढी रहे भने पक्कै पनि नेपालको लोकतन्त्रले समृद्धि पाउनेछ ।’ उनले अहिले लोकतन्त्रमाथि भएको प्रहारबाट सर्वोच्च अदालतले रक्षा गरेको भन्दै यो जिम्मेवारी राजनीतिक दल, निर्वाचन आयोग, नागरिक समाजको समेत रहेको बताए ।