केपी ओलीसँग एकताको कुनै सम्भावना छैन, अन्य दलसँग सहकार्य हुन्छ : माधव नेपाल

Spread the love

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले अब केपी ओली समूहसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित नेकपा प्रचण्ड–माधव समूहनिकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीसँग एकता नभइ ओली प्रवृत्तिविरुद्ध आन्दोलनरत दलहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताए। उनले आफूहरु आन्दोलनरत दलहरु मिलेर संयुक्त सरकार बनाउने तयारीमा रहेको बताए।

‘केपी ओलीसँग एकताको कुनै सम्भावना छैन, तपाईंहरु भ्रममा नपर्नुस्’, उनले भने, ‘ हामी त ओली प्रवृत्तिविरुद्ध आन्दोलनमा सहभागी भएकाहरुलाई साथमा लिएर बरु जाने र संयुक्त सरकार बनाउने पक्षमा छौँ।’

उनले केपी ओलीका मानिसहरु बाहिर आँसु निकाल्ने र भित्र कोठामा गएर मुसुमुसु हाँस्ने भन्दै त्यस्तोकाे भ्रममा नपर्न आग्रह गरे।

‘केपी ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ छैन। ख्याल गर्नुहोला। बाम लगाएर आँशु निकाल्छन र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन्, यिनलाई मुर्ख बनाएर पठाइयो भन्छन्’, उनले भने, ‘तपाईंहरु यस्ता कुराको भ्रममा नपर्नुस्।’

अध्यक्ष नेपालले प्रतिनिधि सभा पुनर्स्थापना भए पनि पुरै लडाईं जित्न बाँकी रहेको बताए। उनले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अर्को लडाईं आवश्यक रहेको बताए। ‘एउटा लडाई जित्यौं, सिंगो लडाईं जित्न बाँकी छ। केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म अर्को लडाईं गर्नुछ’, उनले भने।

उनले केपी ओली खराब मान्छे हुन भनेर स्थायी समितिमा सबैभन्दा पहिला भन्ने उपाध्यक्ष गौतम अहिले ओलीलाई सुधार्ने कोशिसमा लागेको बताए।

‘केपी ओली मान्छे खराब मान्छे हुन भनेर स्थायी कमिटीको बैठकमा पहिलो भाषण गर्नुभएको छ वामदेवले। ४० मिनेट भाषण गर्नुभयो ओलीजस्तो रद्दी मान्छे धर्तीमा कोही पनि छैन भनेर’, अध्यक्ष नेपालले भने, ‘अब अहिले पनि उहाँँ फेरि कोशिस गर्दै हुनुहुन्छ, केपीलाई सुधार्न। मैले उहाँलाई जति कोशिस गर्नुहोस् बालुवा पेलेर तेल निस्किँदैन भनेको छु।’

उनले ओलीलाई पूर्वएमालेको कुनै माया नभएको बताए। ओलीले अहिले मदन भण्डारी फाउन्डेसनको गुट चलाएको आरोपसमेत उनले लगाए। ‘ओलीलाई एमालेको कुनै माया छैन। कम्युनिष्ट पार्टीको कुनै माया छैन। केपी ओली भनेको मदन भण्डारी फाउन्डेसनको गुटको नेता हुन्’, उनले भने।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *