प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भन्दै विप्लवले चालेको शान्तिपूर्ण राजनीति आउने कदम साहसिक भएको बताएका छन् । उनले विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्यान्डिङ भएको पनि बताए ।
सञ्चारमाध्यममा रातारात विप्लव समूहसँग वार्ता गरेर सहमति भएको समाचार आएको भन्दै प्रधानमन्त्रीले त्यसो नभएर लामो छलफलपछि अहिलेको सहमतिमा आइपुगेको उनको भनाइ छ । सहमतिपत्रमा हस्ताक्षरका लागि शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले भने, ‘हामीले नगरा बजाएर वार्ता गरेनौं । वार्ताझैँ गर्यौं । जस्तो वार्ता हुन्छ त्यसैगरी गम्भीरताका साथ वार्ता गर्यौं ।’ उनले विप्लव र आफूबीच झण्डै १० वर्षदेखि नै विश्वासको वातावरण रहेको र त्यसैको जगमा अहिलेको सहमति भएको समेत भन्न भ्याए ।
धेरै कुरा, धेरै विषयको एउटै निष्कर्षका रुपमा आफूहरुले ‘कुनै समस्या आए छलफल र वार्ताबाटै टुंग्याउछौँ,’ भनेर सहमतिको एउटा बुँदामा उल्लेख गरेको उनले बताए । आफूले ८/१० वर्ष अघि विप्लवसँग गम्भीर कुरा गरेको र त्यो बेला केही घण्टासम्म दुई जनाबीच कुरा भएको पनि प्रधानमन्त्री ओलीले खुलासा गरे । त्यो बेलादेखि नै एक अर्कामाथि विश्वास बढेको उनले बताए ।
‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवजी, म उहाँलाई बधाई भन्न चाहन्छु, स्वागत भन्न चाहन्छु र शुभकामना भन्न चाहन्छु । उहाँले जुन साहसिक कदम चाल्नु भएको छ, राज्यको तर्फबाट र पार्टीको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिका तीन बुँदा नै मुलुकका लागि काफी भएको बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो सहमतिपत्रमा तीन बुँदा छ, त्यो नै काफी छ, १८ पुराणमा व्यासले जम्मा दुईवटा कुरा गरे ।’
गत वर्ष सरकारले पृथकतावादी आन्दोलनमा हिँडेका सिके राउतलाई राष्ट्रिय राजनीतिको मुल धारमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यही राष्ट्रिय राजनीतिको मूल धारमा आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि आएको प्रस्ट पारे । उनले आफूहरु एउटै उद्देश्यमा रहेको पनि बताए । ‘समृद्ध नेपाल सुखी नेपाली,’ उनले भने, ‘हाम्रो साझा उद्देश्य हो ।’
ओलीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई शान्तिपूर्ण राजनीतिमा पौडी खेल्न आउने बताए । ओलीले भने, ‘यस खुला परिवेशमा र शान्तिपूर्ण राजनीतिमा , राष्ट्रिय राजनीतिको मूलधारमा उहाँलाई स्वागत गर्न चाहन्छु । मलाई विश्वास छ यस राजनीतिमा पौडी खेल्न विप्लवलाई आउँछ । उहाँ यसमा पौडी खेलेर सफलताका साथ अगाडि बढ्नुहुनेछ भन्ने विश्वास लिएको छु, यसमा उहाँलाई सफलताको हार्दिक शुभकामना भन्न चाहन्छु ।’