काठमाडौं।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब आफ्नै नेतृत्वमा सरकार बनाउनेगरि गृहकार्य थालेका छन् । हिजोबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग हुने निर्णय गरेसँगै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउनेगरि पहल गरेका छन् । यसअघि पनि प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन जुटेका देउवा नेकपाको आधिकारिक विभाजनको लागि पखाईमा थिए ।
तर, सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग हुने निर्णय गरेपछि देउवाले परिस्थिति आफू अनुकुल रहेको आँकलन गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउन गृहकार्य थालेका छन् । यसको लागि उनले आफूनिकटका नेताहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरुसँग परामर्श गर्न खटाएका छन् ।
स्रोतकाअनुसार देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालको संयुक्त सरकार बनाउने गृहकार्य गरेका छन् । संसदको अंक गणितको कुरा गर्दा नेपाली कांग्रेसको पक्षमा ६१ सांसद छन् । र, नेकपा माओवादी केन्द्रको ५३ जना छन् । तर, ओली सरकारमा मन्त्री बनेकाहरु माओवादी केन्द्रमा फर्किने वा नफर्किने कुनै टुँगो लागेको छैन् । उनीहरु नफर्किएपनि माओवादी केन्द्रसँग ४८ सांसद हुने आँकलन गरिएको छ । उता, जनता समाजवादी पार्टी, नेपालका ३२ जना सांसद छन् । कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त गठबन्धन बन्यो भने १४१ सांसद संख्या पुग्छ। यो संख्याले बहुमतको सरकार बनाउन पुग्छ। बहुमतको सरकार बनाउन संसदमा १३८ जना सांसद चाहिन्छ।