निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्न सरकारका प्रतिनिधि र जसपा नेताबीच छलफल

Spread the love

सरकारका प्रतिनिधि तथा संघीय समाजवादी पार्टीका नेताहरुबीच सांसद रेशम चौधरीलाई रिहा गर्ने विषयमा छलफल सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईको सहभागिता रहेको थियो।

त्यसैगरी संघीय समाजवादीतर्फबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण सहभागी रहेका थिए।

‘सांसद रेशम चौधरीको रिहाइको विषयमा बालुवाटारमा सरकारका प्रतिनिधिहरुसँग हाम्रो प्रारम्भिक छलफल भएको छ’, सांसद कर्णले नेपालखबरसँग भने, ‘उहाँहरुले यो राजनीतिक विषयमा भएको भन्ने जवाफ दिनुभएको छ। हामीले सबैलाई छाड्दै हुनुहुन्छ भने चौधरीलाई किन नछाड्ने भनेर भन्यौँ।’

कर्णले पछिल्लो छलफल सांसद चौधरीको रिहाइको विषयमा केन्द्रित रहेको र सत्ताको विषयमा नभएको बताए।

टीकापुर घटनामा संलग्न रहेको भन्दै चौधरीलाई अदालतका जन्मकैद सुनाएको छ।

२०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो।

पुर्पक्षका लागि जेलमै रहँदा उनले २०७४ को प्रतिनिधि सभा चुनावमा वारेसमार्फत उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा उनले कैलाली १ बाट भारी मत ल्याएर सांसदमा निर्वाचित भएका थिए।

मधेशवादी दलहरुले चौधरीको मुद्दा खारेजी र रिहाइका लागि माग गर्दै आएका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *