काठमाडौं ।
युभेन्टस च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ । मंगलबार राति इटालियन क्लब युभेन्टसले ३-२ गोलअन्तरले जित निकाले पनि अवे गोलको आधारमा पोर्टो क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
युभेन्टस र पोर्टोले पहिलो र दोस्रो लेग गरी समग्रमा ४-४ गोलको बराबरी खेले । पहिलो लेगमा घरेलु टिम पोर्टोले युभेन्टसलाई २-१ गोलअन्तरले पराजित गरेको थियो। अवे खेलमा पोर्टोले दुई गोल गर्दा युभेन्टसले भने अवे खेलमा एक गोल मात्रै गर्यो ।
दोस्रो लेगमा भने घरेलु टिम युभेन्टसविरुद्ध पोर्टोका लागि सर्जियो ओलिभेराले खेलको १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । फेडेरिको चिसाले खेलको ४९ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई १-१ गोलको बराबरी दिलाए । ५४ औं मिनेटमा मेहडी तरेमीले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि पोर्टो १० खेलाडीमा सीमित भएको थियो । ६३ औं मिनेटमा फेडेरिकोले अर्को गोल गर्दै युभेन्टसलाई २-१ गोलको अग्रता दिलाए ।
योसँगै निर्धारित ९० मिनेटसम्म युभेन्टसले २-१ को अग्रता बनाएपनि सम्रगमा ३-३ को बराबरी भएपछि ३० मिनेटको समय थप गरिएको थियो । खेलको ११५ औं मिनेटमा सर्जियोले गोल गर्दै पार्टोलाई २-२ गोलको बराबरी दिलाए । ११७ औं मिनेटमा एड्रिन रोविओटले गोल गरेपछि युभेन्टसले खेल ३-२ गोल अन्तरले जित्यो । तर पहिलो लेग र दोस्रो लेग गरी समग्रमा युभेन्टसले ४-४ गोलको बराबरी बनाएपनि अवे गोलको आधारमा पोर्टो च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।