नेपाल राष्ट्र बैंकको एउटा प्रतिवेदनले देशमा महँगी घटेको देखाएको छ । आम उपभोक्ताको महँगीले ढाड सेकिरहेको बेला राष्ट्र बैंकले भने महँगी घटेको प्रतिवेदन सार्वजनिक गरेको हो ।
मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति विषयको मासिक प्रतिवदेनले देशमा महँगी घटेको देखाएको हो । राष्ट्र बैंकको प्रतिवेदनलाई आधार मान्ने हो भने अहिले महँगी २.७० प्रतिशतमा झरेको छ । यो माघ मसान्तसम्मको अवस्था हो । जबकी त्यसको एक महिना अघि देशमा ३.५६ प्रतिशत महँगी रहेको प्रतिवेदन राष्ट्र बैंकले सार्वजनिक गरेको थियो । अघिल्लो महिनाको तुलनामा यस अवधिमा महँगी घटेको देखिन्छ ।
माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४४ प्रतिशत रहेको छ । गतवर्षको यसै अवधिको तुलनामा यो माघमा फलफूल, घ्यू तथा तेल, दाल तथा गेडागुडी र सुर्तिजन्य वस्तुहरु उपसमुहको मूल्यवृद्धि क्रमशः १८.८४ प्रतिशत, १८.१४ प्रतिशत, १०.४१ प्रतिशत र १०.४१ प्रतिशत रहेको छ ।
काठमाडौं उपत्यकामा २.१२ प्रतिशत, तराईमा २.७८ प्रतिशत, पहाडमा ३.३० प्रतिशत र हिमालमा २.०५ प्रतिशत मुद्रास्फीति रहेको छ । यो अघिल्लो वर्षको तुलनामामा क्रमशः ७.५८ प्रतिशत, ७.२९ प्रतिशत, ५.४६ प्रतिशत र ५.२८ प्रतिशत मुद्रास्फीति रहेको थियो । २०७७ माघमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.४१ प्रतिशत, ५.३३प्रतिशत र ३.३९ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.२५ प्रतिशत रहेको छ ।