राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि प्रतिनिधि सभा विघटन गर्नुपर्ने जिकिर गरेपछि सो बैठकमा सहभागीमध्ये एकजनाबाहेक सबैले विरोध गरेका छन्।
सो सर्वदलीय बैठकमा सहभागी पार्टी प्रमुख, पूर्वप्रधानमन्त्रीहरु र उपस्थित नेताहरुमध्ये नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का प्रतिनिधि प्रेम सुवालबाहेक सबैले ओलीको प्रस्तावको विरोध गरेका थिए।
सो धारणाको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका नेताहरुले तत्काल कडा विरोध गरेका थिए।
बैठकको सुरुमै राष्ट्रपति भण्डारीले आफू चैत ९ गतेदेखि बंगलादेशको दुई–दिने भ्रमणमा जान लागेकोबारे जानकारी गराएकी थिइन्।
भण्डारीले अब मुलुकमा शिक्षा, स्वास्थ्य, वातावरणजस्ता विषयमा सबै राजनीतिक शक्तिले गम्भीररुपमा ध्यान दिनुपर्नेमा जोड दिएकी थिइन्।
राष्ट्रपतिले यी विषय राखेपछि भ्रमणबारे धेरैले शुभकामना दिए। तर त्यसपछि थप छलफलको विषयवस्तु प्रष्ट नहुँदा बैठक हलमा केहिबेर सबैजना चुपचाप रहेका थिए।
कसैले राजनीतिक प्रसंग उप्काउन चाहेका थिएनन्।
त्यसपछि प्रधानमन्त्री ओलीले अहिलेको राजनीतिक विषय उठाएका थिए।
उनले प्रतिनिधि सभा विघटन गर्ने आफ्नो कदमको पुष्टि गर्ने गरे।
त्यसपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘के हामी यहाँ सर्वोच्चको फैसला ठीक कि बेठीक भनी बहस गर्न आएको हो र?’ भनी प्रश्न गरेका थिए।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरुले राष्ट्रपतिलाई ‘संसद विघटन गर्नुअघि तपाईंले यस्तै सर्वदलीय बैठक किन नगर्नुभएको’ भनी प्रश्न गरेका थिए।
ओलीले फेरि पनि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशमा जानुपर्ने जिकिर गरेपछि नेताहरुले त्यसको विरोध गरेको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए।
गुरुङका अनुसार प्रधानमन्त्री ओलीले राजनीतिक रुपमा अहिलेको संसद चल्नै नसक्ने अवस्थामा रहेको हुँदा यसलाई विघटन गरेर चुनावमा जानुपर्ने अडान दोहोर्याएका थिए।