नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु

Spread the love

काठमाडौं । 

नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदै छ। ललितपुरको सानेपामा रहेको एक पार्टी प्यालेसमा विहान ११ बजेदेखि भेला सुरु हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

दुई दिनसम्म चल्ने भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने जनाइएको छ। अवधारणपत्रमाथि टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गरिनेछ।

भेलामा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको अवस्था तथा हालसम्म भएका गतिविधि समेटिएको प्रतिवेदन पेस गर्ने नेता विष्णु रिजालले जानकारी दिए।
भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटी सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसदलगायत दुई हजारभन्दा बढीको उपस्थिति हुनेछन्।

यसैबीच, भेला स्थगित भएको भन्ने हल्लाको पछि नलाग्न अग्रह गर्दै भेला स्थगित नभएको तथा निर्धारित स्थान र समयमै सुरु हुने नेता भट्टराईले बताएका छन्।

ओली पक्षले भने खनाल–नेपालले बोलाएको भेलामा नजान नेता कार्यकर्तालाई निर्देशन दिएको छ। पार्टीका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै अनाधिकृत र गुटगत भेला नगर्न नगराउन र त्यसमा सहभागी नहुन निर्देशन दिएका हुन्।

भेलामा सहभागी भएमा विधानको व्यवस्था एवं नियमावली बमोजिम कारबाही गरिने चेतावनीसमेत पोखरेलले दिएका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *