काठमाडाैं ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई फुटेर गइदिए हुने इच्छा राखेको आरोप लगाएको छ।
माधव पक्षले राखेको राष्ट्रिय कार्यकर्ता भेलाको पहिलाे दिनपछि आयोजित प्रेस ब्रिफिङमा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘उतापट्टिकाले (ओली पक्ष) छुट्टिएर जाऊन् भन्ने चाहना राखेका छन्, हामीले बुझेका छौं। तर, हामी विभाजन हुन दिँदैनौं। एकताका लागि भेला डाकिएको हो।’
प्रधानमन्त्री ओलीले अदालतको फैसलालाई अस्वीकार गरेको उनले बताए। अदालतको फैसला अनुसार एमाले ब्युँतिएको उल्लेख गर्दै भट्टराईले २०७५ जेठ २ लाई एकताको आधार बनाउनुपर्ने बताए। तत्कालीन समय अनुसारको पार्टी संरचना निर्माण गर्ने गरी भेलाले निर्णय गर्ने उनले प्रष्टाए।
प्रधानमन्त्रीले बिहीबार बोलाएको संसदीय दलको बैठक र चैत ७ मा बोलाएको केन्द्रीय कमिटीको बैठकमा माधव पक्ष उपस्थित नहुने उनले जानकारी दिए।
संसदीय दलको बैठकका लागि आएको सूचनाबारे भट्टराईले भने, ‘मोबाइलमा संसदीय दलका नेताले बैठक बोलाएको मेसेज आएको थियो।’ राष्ट्रिय भेला एमालेको भएकाले त्यसको जानकारी प्रधानमन्त्रीलाई पनि हुनुपर्ने उनले बताए। संसदीय दलमा उपस्थित नहुने सांसदलाई कारबाही गरे भोग्न तयार रहेको उनले बताए।
कार्यकर्ताको राष्ट्रिय भेलामा प्रधानमन्त्रीलाई पनि डाकिएको जानकारी उनले दिए। ‘तर, प्रधानमन्त्रीले कार्यव्यस्तताले आउन सक्दिनँ भन्नुभयो’, भट्टराईले भने।