प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची तयार भएको छ । संघीय संसद सचिवालयले विहिबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सो प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको हो ।
नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको सचिवालयका महासचिव डा भरतराज गौतमले बताएका छन् ।
अन्य कार्यसूचीमा सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१० को उपनियम ९४० बमोजिम प्रतिनिधिसभा सदस्यहरुबाट प्राप्त अनुपस्थितिको सूचनाहरु स्वीकृतिका लागि बैठकमा प्रस्तुत गर्नेछन् ।सोहीअनुसार सभामुख सापकोटाले राष्ट्रिय सभाका पूर्व सदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूचीसमेत तय गरिएको छ ।