राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने बंगलादेश भ्रमणको सिलसिलामा सोमबार ढाका पुगेकी छिन् । बंगलादेश स्वतन्त्र भएको ५० वर्ष तथा राष्ट्रपति शेख मुजिबुर रहमानको शतबार्षिकीको अवसरमा आयोजना हुने विशेष समारोहमा उनले भाग लिने कार्यक्रम छ । राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित ५४ सदस्य छन् ।
बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले भण्डारीलाई हजरत शाहजालाल विमानस्थलमा स्वागत गरेका थिए । भण्डारीलाई विमानस्थलमा बंगलादेशी स्थल, जल र वायु सेनाले २१ तोपको सलामी दिएको छ । भण्डारीको स्वागतमा विमानस्थलमा बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जावेद मलेक्यु, रेलमन्त्री नरुल इस्लाम, विदेश राज्यमन्त्री साहरियार आलम लगायत उपस्थित थिए ।
अपरान्ह राष्ट्रपति भण्डारी आफ्नो सम्मानमा त्यहाँकी प्रधानमन्त्री शेख हसिनाले आयोजना गर्ने नेसनल परेड स्क्वायरमा उपस्थित हुने कार्यक्रम छ । राष्ट्रपति बंगबन्धुको शतवार्षिकामा पनि भण्डारीले सम्बोधन गर्ने जनाइएको छ । बेलुका आयोजना हुने रात्रीभोजमा भण्डारी सरिक हुने जनाइएको छ ।