ओली पक्षले बुझायो घनश्याम भुसाललाई स्पष्टीकरण पत्र : यस्ता छन् आरोप

Spread the love

नेकपा–एमालेका उपमहासचिव घनश्याम भुसाललाई पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले तीन पृष्ठको चार–बुँदे स्पष्टीकरण सोधेको छ।

सो स्पष्टीकरण पत्रमा उनलाई पार्टी विधानविपरित पार्टी तथा पार्टी नेतृत्वको सरकारविरुद्ध बिभिन्न क्रियाकलाहरुमा नेतृत्व र अगुवाई किन गरेको हो भनी प्रश्नहरु सोधिएको छ।

त्यसमा भुसाललाई तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट प्रस्तुत गरिएको १९ पृष्ठको प्रतिवेदन तयार गर्न र पार्टी सचिवालयमा प्रस्तुत गर्न भूमिका खेल्नुको कारण के हो? भनी सोधिएको छ।

उनलाई सो प्रतिवेदन तयार गर्दा पार्टीको नाम, झण्डा, र लोगो समेतको अनधिकृतरुपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर वितरण गर्न अग्रसर भई पुष्पकमल दाहालको मतियार भएको समेत आरोप लगाइएको छ।

भुसाललाई चैत ४ र ५ गतेको राष्ट्रिय भेला गर्न अग्रसरता लिएको र समानान्तर संगठन निर्माण गर्दै पार्टी फुटाउने काममा अगुवाई किन गरेको भनी प्रश्न गरिएको छ।

उनलाई सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि नेकपाको केन्द्रीय कमिटीको दशौं, एघारौं र बाह्रौं बैठक र संसदीय दलका बैठकहरुमा समेत उपस्थित नभई पार्टीको विधान र निर्देशनविपरित भेलाहरु आयोजना गर्न अग्रसरता किन लिएको भनी अर्को प्रश्न गरिएको छ।

उनलाई गुटबन्दी तथा षडयन्त्र गरेको, पार्टी निर्णय बारम्बार उल्लंघन गरेको लगायतका आरोप लगाइएको छ।

त्यसैगरी उनलाई विपक्षीसँग साँठगाँठ गरेको, केन्द्रीय जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत विभिन्न कार्यहरु निरन्तर गरिरहेको, गराइरहेको र त्यस्ता अवाञ्छित क्रियाकलापहरुमा पार्टीका जिम्मेवार व्यक्तिहरुलाई सम्मिलित गराएको, उक्साएको, अवाञ्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रहित विपरीत काम गरे गराएको समेत आरोप लगाइएको छ।

भुसाललाई उल्लिखित सबै विषयहरुमा स्पष्ट पार्न तीन दिनको समय दिइएको छ।

तीन दिनभित्र स्पष्टीकरणसहित लिखित जवाफ प्रस्तुत नगरेमा पार्टीको विधान र नियमावलीबमोजिम कारवाही गरिने जानकारी गराइएको छ।

स्पष्टीकरण पत्रको पूर्णपाठ

श्री घनश्याम भुसाल,
सदस्य, दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी,
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
तपाई, घनश्याम भुसालले हाम्रो पार्टी विधानविपरीत पार्टी तथा पार्टी नेतृत्वको सरकारविरुद्ध देहायबमोजिमका क्रियाकलापहरुमा नेतृत्व र अगुवाइ के कति कारणले गर्नुभएको हो?

१. तपाईंंले साबिक नेपाल कम्यनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा ‘१९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप’ तयार गर्न, पार्टी विधानको व्यवस्थाविपरीत छापामार शैलीमा तत्कालीन पार्टी सचिवालयमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झण्डा र लोगो समेतको अनधिकृत रुपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हितविपरीत कार्य गरेको र गराउनु पर्नाको कारण के हो?

२. पार्टी अध्यक्ष र महासचिवद्वारा मिति २०७७ चैत्र ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गरी पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग गरी मिति २०७७ चैत्र ४ र ५ गते कथित राष्ट्रिय भेला गर्न अग्रसरता लिएको, पार्टी कमिटी तथा भातृसंगठनहरुको कथित विभिन्न भेलाहरु गरी समानान्तर संगठन निर्माण गर्दै पार्टी फुटाउने काममा अगुवाई किन गर्नुभएको हो?

३. सम्मानित सर्वोच्च अदालतको मिति २०७७ फागुन २३ गतेको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीका दशौं, एघारौं र बाह्रौं बैठक र संसदीय दलका बैठकहरुमा समेत उपस्थित हुनुको साटो पार्टीको विधान र निर्देशनविपरीत पार्टी र जनसंगठनहरुको नाम, झण्डा र चिह्नको दुरुपयोग गरी÷गराई कथित राष्ट्रिय कार्यकर्ता भेला तथा विभिन्न नामका कथित भेलाहरु आयोजना गर्न अग्रसरता लिई पार्टीको एकताविरोधी प्रस्ताव प्रस्तुत एवं पारित गर्नु र गराउनुको कारण के हो?

४. माथि उल्लिखित क्रियाकलापहरुका साथै तपाईंले पार्टी हितविपरीत पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टी विधान तथा निर्णयविपरीत गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टी निर्णय बारम्बार उल्लंघन गरेको, पार्टीप्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई स्वयं पार्टीप्रतिको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने गरी निरन्तर विभिन्न क्रियाकलापहरु सञ्चालन गरे गराएको, पार्टी कमिटीको गोपनीयता भंग गरे गराएको, पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेको वा विपक्षीसँग साँठगाँठ गरे गराएको, केन्द्रीय जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत विभिनन कार्यहरु निरन्तर गरिरहेको गराइरहेको र यस्ता अवाञ्छित क्रियाकलापहरुमा पार्टीका जिम्मेवार व्यक्तिहरुलाई सम्मिलित गराएको उक्साएको, अवाञ्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रहित विपरीत काम गरे गराएको, पार्टीको विधान र नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरुले पालना गर्नुपर्ने भनी उल्लिखित कर्तव्यको उल्लंघन गरे गराएको समेत प्रस्ट देखिएकोले यस्तो क्रियाकलाप निरन्तर गरी गराई पार्टी हितविपरीत, पार्टीको एकता, अक्षुण्णता र अग्रगामी कार्यविरुद्ध, पार्टीले राष्ट्रहित तथा जनहितका लागि गरिरहेको र गर्नुपर्ने कार्यलाई रोक्ने र पार्टी जीवन तथा समग्र पार्टीमाथि नै आँच आउने गरी पार्टीलाई विभाजनको दिशामा लान यस्ता विभिन्न अनुचित क्रियाकलापहरु गरे गराएको देखिएकोले त्यस्ता विभिन्न क्रियाकलापहरु के कति कारणले निरन्तर गर्नु गराउनुभएको हो?

मिति २०७७ चैत ७ गते सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको १२औँ बैठकको निर्णयबमोजिम माथि उल्लिखित विषयहरुमा तपाईंले पार्टी विधानको धारा ४९ (क) को १, २, ३, ४, ५, ६, ७, १० र १४ को उल्लंघन गरेको सप्रमाण देखिएकोले तपाईलाई पार्टी विधानबमोजिम कारबाही किन नगर्ने? यस सम्बन्धमा माथि उल्लिखित सबै विषयहरुमा स्पष्ट पार्न तपाईलाई तीन दिनको समय दिइएको छ। तीन दिनभित्र स्पष्टीकरणसहित लिखित जवाफ प्रस्तुत नगरेमा पार्टीको विधान र नियमावलीबमोजिम कारवाही हने व्यहोरा अवगत गराइन्छ।

ईश्वर पोखरेल
महासचिव


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *