नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन

Spread the love

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ।

केही हप्तादेखि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार साँझ निधन भएको स्वर्गीय जोशीकी भाउजू शोभा जोशीले बताइन्।

‘उहाँको मृत्यु भएको अस्पतालले हामीलाई जानकारी दिएको छ,’ शोभा जोशीले भनिन्, ‘हामी सबै परिवार अहिले नर्भिक अस्पतालमा जम्मा भएका छौं।’

जोशीलाई फागुन १३ गते राति मस्तिष्काघात भएपछि अस्पताल भर्ना गरिएको थियो।

पहिलो संविधान सभा र दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौंबाट निर्वाचित जोशी उद्योगमन्त्री समेत बनेका थिए।

मन्त्री बन्दा उनले सार्वजनिक संस्थानहरुको सुधारमा उल्लेख्य काम गरेर प्रशंसा बटुलेका थिए।

काठमाडौंको उपमेयर समेत बनिसकेका नेता जोशी काठमाडौंवासीबीच निकै लोकप्रिय नेता थिए।आमजनता कोरोना महामारीको चपेटामा परेका बेला उनी स्वास्थ्य सामग्री र जानकारीमूलक सामग्री लिएर काठमाडौंवासीका घरदैलोमै पुगेका थिए।

उनले आपतकालीन अवस्थामा डाक्टरहरुसँग सम्पर्क गर्ने व्यवस्था समेत मिलाएका थिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुशल संगठक एवमं पूर्वमन्त्री जोशीको असामयिक निधनको खबरले आफू निकै मर्माहत भएको बताएका छन्।

‘जोशीजीको निधनले काँग्रेसले एक इमानदार र निष्ठावान् नेता गुमाएको छ। उहाँको आत्माको चिरशान्तिको कामना गर्दै यस दुःखद घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु,’ उनले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

त्यसैगरी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका नेताहरुले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *