आफ्नै भूमिमा नेपालले ३७ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि उचालेको छ।
सोमबार रंगशालामा भएको थ्री नेसन्स कपको उपाधि उचालेसँगै नेपालले ३७ वर्षपछि आफ्नै भूमीमा उपाधि उचालेको हो।
यसअघि नेपालले १९८४ मा दक्षिण एसियाली खेलकुद अन्तर्गतको फुटबलको उपाधि यसै दशरथ रंगशालामा उचालेको थियो। त्यसयता स्वदेशमा नेपाली राष्ट्रिय टोलीले उचालेको यो दोस्रो उपाधि हो।
थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई फाइनलमा २-१ गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो। सिनियर टोलीले २०१६ को सोलिडारिटी कपपछि पहिलो उपाधि जितेको हो।
समग्रमा नेपाली राष्ट्रिय टोलीको यो पाँचौ अन्तर्राष्ट्रिय उपाधि हो। यसअघि नेपालले १९८४ र १९९३ को सागसँगै २०१६ मा बंगबन्धु गोल्डकप र सोलाडिरीटी कपको उपाधि जितेको थियो।
सोमबार बंगलादेशविरुद्धको फाइनलमा नेपालका लागि सन्जोग राई र विशाल राईले समान एक एक गोल गरे। दुवै गोल पहिलो हाफमा सम्भव भएका थिए।
१९ औं मिनेटमा सुनिल बलको कर्नरलाई बंगलादेशी डिफेन्डरले क्लियर गर्न नसकेपछि बल सन्जोगको खुट्टामा गएको थियो। सन्जोगले विपक्षी खेलाडीलाई छलाउँदै नजिकैबाट गरेको प्रहारले जाली चुम्यो।