काठमाडौं।
देशका पत्रकारहरुको छाता संगठनका रुपमा रहेको नेपाल पत्रकार महासंघको निर्वाचन आज विहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने भएको छ ।महासंघको २६ औं अधिवेसनसँगै केन्द्रीय, प्रादेशिक, जिल्ला तथा प्रतिष्ठान स्तरमा एकैपटक निर्वाचन हुन लागेको हो ।महासंघमा सदस्य रहेका देशभरिका करिब १३ हजार पत्रकारहरु प्रत्यक्ष रुपमा निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था रहेको छ ।यसअघि पत्रकारहरुले आफ्ना प्रतिनिधिहरु छनौट गर्ने र ती प्रतिनिधिहरुले केन्द्रीय पदाधिकारी तथा प्रतिनिधिलाई मतदान गरेर छनौट गर्ने विधि रहेकोमा यसपटक हरेक सदस्यले केन्द्रीय प्रतिनिधिलाई प्रत्यक्ष रुपमा मतदान गर्ने विधि लागू गरी निर्वाचन हुन लागेको छ ।यस पटकको निर्वाचनमा निर्वाचित हुने प्रतिनिधिहरुमा लिङ्गीय, जातीय, क्षेत्रीय तथा वर्गीय समावेशीकरणलाई पनि विशेष महत्व दिइएको छ ।हरेक तहका समितिमा अनिवार्य रुपमा महिला उपाध्यक्ष हुनुपर्ने व्यवस्था समेत गरी महिलाहरुको प्रतिनिधित्व ५० प्रतिशत हुने व्यवस्था गरिएको छ ।वि.सं. २०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार संघको निरन्तरताका रुपमा महासंघ रहेको छ । वि.सं. २०५३ जेठ २९ मा संघलाई महासंघमा रुपान्तरण गरिएको हो ।देशका ७७ मध्ये ७६ जिल्लामा महासंघको शाखा छ भने २० भन्दा बढी पत्रकारहरु रहेका ४२ वटा सञ्चार प्रतिष्ठानहरुमा शाखा रहेका छन् ।देशका ७ प्रदेशसहित काठमाडौं उपत्यकालाई छुट्टै एकाइ मानी ८ वटा भौगोलिक प्रदेश र प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाहरु रहने प्रतिष्ठान र एसोसिएट दुई गैरभौगोलिक प्रदेश गरी महासंघका १० प्रदेश समिति र परिषद छन् ।महासंघको केन्द्रीय अध्यक्षमा विपुल पोख्रेल, निर्मला शर्मा र गजेन्द्रसिंह बुढाथोकी उम्मेदवार रहेका छन । महासंघको निर्वाचन तीन-तीन वर्षमा हुने गरेको छ ।-