काठमाडौं ।
उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा पर्व मनाउने गरिन्छ।घोडेजात्रा पर्वका अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। सहरका बालबच्चालाई दुःख दिन थालेपछि टुन्डी नामका राक्षसलाई टुँडिखेलमा गाडिएको र यसो गर्दा पनि दुःख दिन नछोडेपछि घोडाको टापले कुल्चाउने गरेको किंवदन्ती यो जात्रासँग सम्बन्धित छ ।आइतबार बिहानै सेनाको क्याभलरी युनिटले धर्मपथमा रहेको जुद्धवारुणयन्त्र कार्यालय सामुन्नेको रेवन्त पीठ र नाट्येश्वरमा बलि दिएपछि उपत्यकामा यो जात्रा सुरु हुने परम्परा रहेको छ। घोडाको टापले थिचेर राख्ने प्रचलनअनुसार टुँडिखेलमा उत्सवका रूपमा घोडेजात्रा हुँदै आएको हो ।नेपाली सेनाले आज टुँडिखेलमा घोडा दौड, अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शनी गर्दै छ।
हरेक वर्ष टुँडिखेलमा घोडेजात्रा हेर्न राष्ट्र प्रमुखसहित उच्च पदस्थ व्यक्तित्वहरु अतिथिको रुपमा पुग्ने गरेका छन्। यस वर्ष कोरोना संक्रमणको जोखिम बढेकाले थोरैलाई आमन्त्रित गरिएको सेनाले जनाएको छ।