जसपाप्रति कांग्रेस आशावादी, बहुमतको सरकार गठनमा दाबी पेस गर्ने निर्णय

Spread the love

नेपाली कांग्रेसले बहुमतको सरकार गठनको लागि दाबी प्रस्तुत गर्ने निर्णय गरेको छ।

मंगलबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी बैठकले बहुमतको संयुक्त सरकार बनाउन दाबी पेश गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।

‘राष्ट्रपतिले दिएको समयसीमाभित्र दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन कांग्रेसले सक्छ’, नेता महतले  भने, ‘माओवादी केन्द्रले हामीलाई समर्थन गरिसकेको छ, जसपा पनि पूरै आउँछ भन्ने बैठकले विश्वास व्यक्त गरेको छ।’

उनले अझै दुई दिन समय बाँकी भएकाले अन्य दलहरुसँग पनि कांग्रेसले छलफल गर्ने बताए।

पदाधिकारी बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र कांग्रेसका सभापति देउवाबीच बूढानीलकण्ठमा छलफल भएको थियो।

उक्त छलफलमा प्रचण्ड र यादवले देउवालाई बहुमतको संयुक्त सरकार बन्ने आधार रहेको बताएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भएको मतदानमा संसदको विश्वास गुमाएपछि उनी पदमुक्त भइसकेका छन्।

ओली पदमुक्त भएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति नै नयाँ सरकार गठनको लागि नेपालको संविधान २०७२ को धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमत सांसदको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यलाई वैशाख ३० गतेभित्र प्रधानमन्त्री पदमा नियुक्त गर्ने दाबी पेश गर्न आह्वान गरेकी थिइन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *